Dhulikhel Eco Banner new

सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई नेप्सेको स्पष्टिकरण

5.08K
shares

काठमाडौं, १६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले कम्पनीलाई वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्तालाई अन्यौलता सिर्जना गर्न खोजेको भन्दै नेप्सेमा उजुरी परेको भन्दै सात दिने स्पष्टिकरण सोधेको हो ।

कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएको भन्दै एक लगानीकर्ताले नेप्सेमा उजुरी दिएका थिए । उक्त उजुरी परेपछि नेप्सेले आइतबार कम्पनीलाई एक साताभित्र कानूनी र सैद्धान्तिक कारण प्रष्ट खुल्नेगरी स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

कम्पनी ऐनको दफा १४३ ले ‘मुख्य कम्पनीले सहायक कम्पनी भएमा सहायक कम्पनीको तत्काल समाप्त भएको आर्थिक वर्षको बार्षिक हिसाबको एकप्रति र सो अवधिको त्यस्तो कम्पनीको सञ्चालक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्षको अन्तमा सहायक कम्पनीमा रहेको मुख्य कम्पनीको लगानी विवरण र मुख्य कम्पनी र सहायक कम्पनीको आर्थिक वर्ष बेग्लाबेग्लै भएमा त्यस्तो भिन्न अवधिभित्रमा सहायक कम्पनीमाथि रहेको मुख्य कम्पनीको हक कुनै प्रकारले परिवर्तन भएको रहेछ भने त्यस्तो कुरासहित समावेश गरी मुख्य कम्पनीको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था’ गर्न भनेको छ ।

तर कम्पनीले त्रैमासिकरुपमा वित्तीय विवरण प्रकाशित गर्दा सहायक कम्पनीको कुनै विवरण उल्लेख नगरेको भन्दै नेप्सेमा उजुरी परेको हो । धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम २२ को १ (क) मा संगठित संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्ने प्रवधान रहेको छ ।

उक्त व्यवस्था कार्यान्वयन नगरेमा उक्त विनियमावलीको विनियम १६ को १ (घ)मा नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा सूचीकरण स्थगत, खारेजी तथा पुनः सूचीकरण गर्न सक्ने व्यवस्था गरेको छ । उक्त कम्पनीले नियम अनुसार लगानीकर्ताहरुलाई प्रदान गर्नुपर्ने सूचना समयमा जानकारी नदिएकोले सो कम्पनीको संचालक तथा व्यवस्थापनले लगानीकर्तालाई हानी पुर्याउने गलत मनसाय देखिएको निवेदनमा उल्लेख छ ।

नेप्सेका अनुसार कम्पनीले सोधेको स्पष्टिकरण हेर्ने र कमजोरी पाइए कानूनी कारबाही हुने छ । नेप्से निकट स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट कम्पनीले लगानीकर्तालाई वास्तविक जानकारी नदिएको पाइएको छ ।