दैलेखमा १ लाख ६१ हजार मतदाता, स्थानीय चुनाव पछि थपिए २ हजार ७७९ जना
वि.सं.२०७९ भदौ १० शुक्रवार १०:४२
shares

काठमाडौं, १० भदौ । दैलेख जिल्लामा २ हजार ७७९ जना नयाँ मतदाता थपिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दैलेखमा थप २ हजार ७७९ जना मतदाता थप भएका छन् ।
जिल्लाभर स्थानीय चुनावको समयमा १ लाख ५८ हजार ४८९ जना मतदाता रहेकोमा अहिले १ लाख ६१ हजार २६८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिइन् । दुई संघीय चुनाव क्षेत्र र ४ प्रदेश चुना क्षेत्र रहेको जिल्लामा १२ गतेदेखि मतदाता नामावली अध्यावधिकको काम हुने प्रमुख काउचाको भनाइ छ ।
‘अहिले निर्वाचन आयोगबाट आएको मतदाता नामावलि १ लाख ६१ हजार २६८ जनाभन्दा मतदाता बढ्दैनन्, अध्यावधिकको समयमा घट्न सक्छन्,’ उनले भनिन् । जिल्लाबाट संघ र प्रदेशको चुनाबमा भाग लिन पाउने मतदाताको अन्तिम नामावाली भदौको अन्तिममा मात्रै जानकारी हने उनको भनाइ छ । निर्वाचन घोषणासँगै नयाँ मतदाता नामावलिमा नाम दर्ताको कार्य रोकिन्छ ।
उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस पछि कसैको नाम दुई ठाउँबाट दर्ता भएको छ भने त्यसको जानकारी गराउन लागि र कसैको मृत्यु भएर नाम हटाउनु पर्ने भए सोको जानकारी गराउनका लागि आग्रह गरिने प्रमुख काउचाको भनाइ छ ।
















