Dhulikhel Eco Banner new

एमालेबाट अध्यक्ष ओली भावी प्रधानमन्त्री

6.71K
shares

काठमाडौं, ११ भदौ । अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर नेकपा एमाले आगामी चुनावी मैदानमा जाने भएको छ । आगामीको चुनावको तयारीका लागि बसेको पार्टीको केन्द्री कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अघी सारेर चुनावमा जाने निर्णय गरेको हो ।

उपमहासचिव प्रदिप ज्ञवालीले राखेको प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेसँगै आउँदो चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चिनाएर प्रचार प्रसार गर्ने भएको हो । बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले चुनावका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई निर्देशन समेत दिएका छन् । पालिका चुनावमा पार्टीभित्रकै घातले केही पालिकामा हारेको भन्दै ओलीले आउँदो चुनावमा टिकट नपाउनेले चित्त नदुखाइकन टिकट पाएका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

यस्तै, नेकपा एमालेले आउँदो चुनावमा उम्मेदवार छनोटका ५ वटा मापदण्ड बनाउँदै भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पनि निर्देशन दिएको छ । उम्मेदवार छनोट गर्दा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गरी ५ वटा मापदण्डलाई ख्याल गर्न केन्द्रीय कमिटी बैठकले निर्देशन दिएको हो ।