केन्या विरुद्धको पहिलो एकदिवसीए क्रिकेटमा नेपालको सहज जित, आशिफको शतक
वि.सं.२०७९ भदौ १७ शुक्रवार १९:३२
shares

काठमाडौं, १७ भदौ । नेपालले केन्या विरुद्धको पहिलो एकदिवसीए क्रिकेट खेलमा सहज जित निकालेको छ । केन्याको नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध ७ विकेटको सहज जित निकालेको हो ।
केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आशिफ शेखले शतक प्रहार गरे । उनले १ सय १० रनको पारी खेले । त्यस्तै अर्का ओपनर अर्जुन साउदले पनि अर्धशतक प्रहार गरे । उनले ६१ रनको पारी खेले । त्यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४ रनेको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित ३ रन बनाए । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १-१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए । घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए ।
यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ । त्यस्तै सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ । यस अघि नेपालले केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।















