GBIME

साताभर नकारात्मक रहेको शेयर बजारमा भारी गिरावट, १९७० विन्दुमा झर्‍यो परिसूचक

1.09K
shares

काठमाडौं, १८ भदौ । यो साता नेप्से परिसूचकमा भारी गिरावट आएको छ । अघिल्लो हप्ताकोभन्दा ५२ अंकले घटेर शेयर बजार १९७० विन्दूमा झरेको छ । अघिल्लो हप्तासम्म २०२२ दशमवल ६२ विन्दूमा रहेको शेयर बजार यो हप्ता १९७० दशमवल ६२ विन्दुमा झरेको छ । यो २.५७ प्रतिशतले कम हो । यो साताका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक रहेको थियो । दुई दिन भने सामान्य सुधार भएको बजार यो साता २ हजारभन्दा तलको विन्दुमा नै रह्यो ।

यस साता सेन्सेटिभ इण्डेक्स पनि ८.५४ अंक घटेको छ । फ्लोट इण्डेक्स ३.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंक घटेको छ । यस साता सबै परिसूचक नकारात्मक रहे । नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.६८ प्रतिशत कम हो ।

यस साता दैनिक औषत कारोबार संख्या १६.९४ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या १८.५८ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे २ प्रतिशत घटेको छ । गत साता २८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ७१ अर्ब रुपैयाँ घटेर २८ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यो साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने अन्य उपसमूहको सबैभन्दा कम घटेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक ५.४८ प्रतिशत घटेको छ भने अन्यको ०.२९ प्रतिशत घटेको छ । अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८२.६८ अंक घटेको छ । त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० अंक घटेको छ ।

यो हप्ता ५ स्टकको मात्र मूल्य बढेको छ । यस साता सामुदायिक लघुवित्त, सनराइज बैंक, नेपाल टेलिकम, ओरियन्टल होटल र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य बढेको हो । यद्यपि, यी स्टकहरुको मूल्य वृद्धिदर भने न्यून रहेको छ । यता कारोबारमा आएको रुरु जलविद्युत कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक १४.२७ प्रतिशत घटेको छ ।