Dhulikhel Eco Banner new

म्यानपावरलाई रकम दिएको प्रमाण नहुँदा कारबाहीमा समस्या भयो : मन्त्री कुँवर

5.81K
shares

काठमाडौं, २६ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई रकम तिरेको प्रमाण सुरक्षित राख्नका लागि आग्रह गरेका छन् । आइतबार मन्त्रालमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रमिकका गुनासा सुन्ने क्रममा मन्त्री कुँवरले यस्तो बताए हुन् ।

म्यानपावरले धेरै पैसा लिएको भनेर श्रमिकले गुनासो गर्ने गरे पनि ठोस प्रमाण नभएका कारण कारबाही गर्न नसकिएको उनको भनाइ छ । उनले श्रमिकलाई म्यानपावरलाई रकम दिएको प्रमाण राखेर मात्रै रकम दिन पनि आग्रह गरे ।

कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरेले विदेश जादाँ ठगिएको गुनासोहरु राख्ने गरेका छन् । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताए ।

साथै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताए । मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुनेका छन् । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक्ष रुपमा मन्त्रीसँग आफ्ना गुनसाहरु राखेका छन् ।

श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरु बैदेशिक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न निर्देशन समेत दिएका छन् । श्रमिकसँग श्रम मन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संञ्चालन गरिरहेको छ ।