अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, नेपाली रुपैयाँ इतिहासकै कमजोर
वि.सं.२०७९ असोज ८ शनिवार १०:२३
shares

काठमाडौं, ८ असोज । अमेरिकी डलरको मूल्य शनिबार पनि महँगो बनेको छ । शुक्रबार रेकर्ड कायम गरेको अमेरिकी डलरले शनिबार त्यो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि १ अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ । शुक्रबार १२९ रुपैयाँ ६८ पैसा रहेको थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर शुक्रबारदेखि भने फेरि बढ्न थालेको हो । शनिबार १ अमेरिकी डलरको खरिद मूल्य १२९.२९ रुपैयाँ पुगेको छ । शुक्रबार भने १ अमेरिकी डलरको खरिद मूल्य १२९.०८ रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको मूल्य बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ ।
नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर स्थिर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले भारुको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पर्छ । डलर बलियो हुँदा रेमिट्यान्स, पर्यटन र निर्यातमा फाइदा हुने भए पनि वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा रकम भने बढ्न जान्छ ।
डलरको मूल्य बढ्दा निर्यातमुखि अर्थतन्त्र भएका देहरुलाई मात्रै फाइदा हुने अर्थविद्हरुको भनाइ छ । नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको साथै विदेशी ऋणमा विभिन्न आयोजना सञ्चालन गरिरहेको देशका लागि डलरको मूल्य बढ्दा समग्र क्षेत्रमा असर पर्ने गर्छ ।
डलरको भाउ बढ्दा अर्को तर्फ नेपालले विदेशी राष्ट्रलाई तिर्नु पर्ने ऋण, साँवा र ब्याज पनि महंगो पर्न जान्छ । वैदेशिक ऋणको लागत समेत बढ्छ । नेपाल उपभोग्य वस्तु समेत विदेशबाट खरिद गर्नु पर्ने भएकाले नेपालीको भान्सा सम्म यसको प्रभाव पर्छ ।
















