कोरोना बीमाको भुक्तानी तिहार अघि नै हुने
वि.सं.२०७९ असोज ३० आइतवार ११:३७
shares

काठमाडौं, ३० असोज । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानी तिहार अघि नै गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयबाट बजेट प्राप्त भएपछि मापदण्ड तयार पारेर तिहार अघि नै भुक्तानी गर्ने तयारी भइरहेको समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
अर्थमन्त्रालयले समितिलाई कोरोना बीमा भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । लामो समयदेखि कोरोना बीमा पाउने नपाउने विषयमा द्धिविधा रहेको अवस्थामा मन्त्रालयबाट रकम प्राप्त भएपछि बीमितिले रकम पाउने अवस्था सिर्जना भएको थियो । अहिले बीमक संघले मापदण्ड तयार पार्न लागेको र मापदण्ड तयार पारेर समितिमा आए पनि वितरणको कार्य सुरु हुने प्रवक्ता पौडेलले बताए ।
‘बिमक संघले ल्याएको मापदण्ड कस्तो हुन्छ, हेर्नुपर्छ, अनि तिहार अघि नै हुने सम्भावना पनि हुन सक्छ, सम्भावना देखिन्छ,’ उनले भने । संघको बैठक बसेर यस विषयमा निर्णय गरेर ल्याएपछि वितरणको कार्य सुरु हुने प्रवक्ता पोडेलको भनाइ छ । पहिलो आउनेलाई पहिला दिने आधारमा वितरण गर्ने भन्ने कुरा हो तर सबैलाई पुग्ने रकम नआएकाले मापदण्ड बनाउनु पर्ने देखिएको पौडेको भनाइ छ ।
अर्थमन्त्रालयले भुक्तानी गरेको रकम जम्मा १० प्रतिशत मात्रै हो । कोरोना बीमा दाबी गरेका व्यक्तिहरुलाई भुक्तानी गर्नु पर्ने रकम ११ अर्ब छ । मन्त्रालयले १ अर्ब मात्रै निकासा गरेको समितिले जनाएको छ ।
















