Dhulikhel Eco Banner new

१२ लाख स्मार्ट कार्ड खरिद गर्दै यातायात विभाग

4.91K
shares

काठमाडौं, ३० असोज । यातायात व्यवस्था विभागले गत बर्ष खरिद गरेको स्मार्ट कार्ड सकिन लागेपछि थप १२ लाख कार्ड खरिद गर्ने भएको छ ।

लाइसेन्स वितरणलाई सहज र छिटो बनाउन १२ करोड रुपैयाँ लागत अनुमानमा विभागले १२ लाख कार्ड खरिद गर्ने भएको हो । विभागले हालै स्मार्ट लाइसेन्सको लागि आवश्यक कार्ड खरिदको लागि आइतबार टेन्डर आह्वान गरेको छ ।

विभागले स्मार्ट लाइसेन्सको माग धेरै भएपनि स्मार्ट कार्ड पर्याप्त नहुँदा सबै सेवाग्राहीको हातमा स्मार्ट लाइसेन्स पुर्याउन सकिरहेको छैन ।

कार्ड सप्लाइ गर्न ठेक्का आह्वान गरेको विभागले गत बर्षपनि १४ लाख स्मार्ट कार्ड खरिद गरेको थियो । गत बर्ष मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको ठेक्का पाएको थियो ।

अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले ठेक्का लिन सक्ने यो बोलपत्र आह्वानमा ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि ६५ लाख ६४ हजार रुपैयाँ अर्थात ५० हजार डलर रुपैयाँ राख्नुपर्ने टेन्डरमा उल्लेख छ ।

विभागले गरेको टेन्डर आह्वानमा स्मार्ट कार्डको डिजाइन स्वीकृत भएको तीन महिनाभित्र उक्त स्मार्ट लाइसेन्स सप्लाई गरिसक्नुपर्ने जनाइएको छ ।

विभागका अनुसार बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरि एक कम्पनी छनोट गर्ने छ ।

विभागका अनुसार गत बर्ष खरिद गरेको स्मार्ट कार्ड सकिन लागेको र थप तत्काल ल्याउनुपर्ने देखिएकाले ठेक्का आह्वान गरिएको हो ।

पछिल्लो समय नेपालमा दैनिक ७ देखि ८ हजार लाइसेन्सको माग रहेकोमा विभागसँग भएको मेसिनले दैनिक ३ देखि चार हजार मात्रै स्मार्टकार्ड छाप्दै आएको छ । विभागले स्मार्ट कार्डको विकल्पमा परिक्षणकालिन लाइसेन्सको समेत व्यवस्था गरेको थियो ।