तीन महिनामा एभरेष्ट बैंकको नाफा ८६ करोड बढी
वि.सं.२०७९ कात्तिक ७ सोमवार ०८:४५
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एभरेष्ट बैंक लिमिटेडको खुद नाफा ४८.९५ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८६ करोड २२ लाख रुपैयाँ पुगेको हो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.५४ प्रतिशत, कुल सञ्चालन आम्दानी ३२ प्रतिशत र सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । नाफासँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ५.४५ प्रतिशत बढेको छ भने निक्षेप ०.६४ प्रतिशत र कर्जा १.७२ प्रतिशत बढेको छ ।
















