कञ्चनपुर क्षेत्र नं २ मा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०७:३९
shares

काठमाडौं, १५ कात्तिक । कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश एनपी साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै प्रतिस्पर्धा हुनेभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन । चुनावी प्रचारका क्रममा उनि आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउछन। उनले सिँचाइमन्त्री भएर कार्य गरिसकेका छन ।
एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उनको आरोप छ । “पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुनसकेका छैनन्”, उनले भने, “सांसद नभएर पनि तटबन्ध निर्माणका लागि रु १० करोडका योजना चालु आवमै ल्याएको छु ।” जनताले पत्याउने गरी काम गरिरहेको उनको भनाइ छ ।
एमालेका तर्फबाट चुनावी मैदानमा रहेका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ । स्पष्ट वक्ताका रूपमा परिचित रहेका उनि यस क्षेत्रको विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्बासीका मुद्दा संसद्मा बारम्बार उठाउनेमा पर्छन । शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्र, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई उनले चुनावीसभामा सुनाउँदै आएका छन ।
“मुक्त कमैया, मुक्त हलियाका १४ शिविर यसै निर्वाचन क्षेत्रमा पर्दछन्”, उनले भने, “शिविरमा बसोबास गर्दै आएका व्यक्तिको मुख्य समस्याका रूपमा नदी कटान, डुबानसँगै रोजगारीको छ, निर्वाचनमा विजयी भए ती कार्य पूरा गर्छौँ ।”
“प्राविधिक शिक्षालयका भौतिक संरचना निर्माण गर्नका लागि रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ, प्राविधिकतर्फका विभिन्न विधामा पढाइ गराउने गरी कार्य गरेकाले यसकै आधारमा मत पाउने उनले उल्लेख गरे ।



















