Dhulikhel Eco Banner new

आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन मतदाताको आग्रह

5.3K
shares

काठमाडौं, १६ कात्तिक । म्याग्दीका मतदाताले घरदैलो अभियानमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजना भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् ।

“हामीले खेतीपातीको समयमा सहजरुपमा मल र बीउ पाउने व्यवस्था मिलाउनुहोस”, बेनी नगरपालिका–२ बगरफाँटका पदमपाणि शर्माले भने, “गाउँमा खानेपानी, सिँचाइ र रोजगारीको व्यवस्था गरिदिनुहोस्, पैसा तिरेर भए पनि आधारभूत आवश्यकताका कुरा सहजरुपमा पाउन सक्ने व्यवस्था गरिदिनुभयो भने हाम्रा लागि ठूलो कुरा हुन्छ ।

” त्यसैगरी मालिका गाउँपालिका–३ बेलीका स्थानीय टेकबहादुर विकले खानेपानी, सिँचाइ, सडक र बिरामी पर्दा नजिकमा रहेका स्वास्थ्य संस्थामा उपचार गर्न पाउने व्यवस्था मिलाइदिए राम्रो हुने विचार व्यक्त गरे ।

गठबन्धनको तर्फबाट प्रदेशसभा म्याग्दी (२) का उम्मेदवार रेशम जुग्जालीले जनतालाई विकास र समृद्धिको आवश्यक भएको बताए । उनले गठबन्धनको लक्ष्य नै मुलुकको समृद्धि भएकाले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

“जिल्लाको समग्र विकासका लागि हामीले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ,” जुग्जालीले भने, “मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।” कृषि उत्पादन बढाउन किसानलाई मल, बीउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मतदातासँगको छलफलको क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमबहादुर (खमबीर) गर्वुजाले आफू र गठबन्धनका उम्मेदवार विजयी भएपछि किसानका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उत्पादनमुखी कार्यमा ध्यान दिन किसानलाई आग्रह गरे ।

नेकपा एमालेका उम्मेदवारसँग पनि ग्रामीण भेगका मतदाताले किसानका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् । बेनी नगरपालिका–३ भकिम्लीको मुसुङका टीका मगरले बेनी–भकिम्ली सडकको स्तरोन्नति, कृषि उत्पादनको बजारीकरणका साथै किसानलाई गाउँमा नै गरिखाने वातावरण मिलाइदिन सके राम्रो हुने बताए ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले गाउँका सडकको मापदण्ड तयार गरेर सबै सडकको स्तरीकरण गरी सुविधाजनक गराउने, किसानको जीवनस्तर वृद्धिका लागि आधुनिक कृषि प्रणाली विकास गर्ने लगायतका योजना सुनाए ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले जिल्ला समन्वय समितिमा पाँच वर्ष समन्वय प्रमुख भएर काम गर्दा आफूले किसानका समस्या र बाध्यता बुझेको बताउँदै किसानलाई उत्पादनसँग जोडेर जीवनस्तर उकास्ने काममा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवार छन् ।