Dhulikhel Eco Banner new

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

5.25K
shares

काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए । “यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ”, अध्यक्ष दाहालले भने, “मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे। “हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ”, उनले भने, “नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।” निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो ।

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे । “म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो”, अध्यक्ष दाहालले भने, “यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।”