Dhulikhel Eco Banner new

एमाले काठमाडौं ९ का उम्मेदवारको प्रतिबद्धता सार्वजनिक, सडक धुलो र हिलोमुक्त बनाइने

4.76K
shares

काठमाडौं, २० कात्तिक । नेकपा एमाले काठमाडौंको क्षेत्र नम्बर ९का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेका छन् । शनिबार ६ बुँदे प्रतिबद्धतापत्र सार्बजनिक गर्दै सो क्षेत्रका उम्मेदवारहरुले यस्तो घोषणा गरेका हुन ।

नेकपा एमालेको तर्फकाट प्रतिनिधिसभामा पुर्व मन्त्री एवं निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ९(क)का हरिकृष्ण डंगोल र प्रदेश ९(ख)मा केशवप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् । पोखरेल वागमती प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य समेत हुन् । तीनै जनाले काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आयोजित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिबद्धतापत्रमा कलंकी–नागढुंगा सडक खण्डको विस्तारित लेनलाई सहज गर्न बल्खु खोलामा थप पक्की पुल बनाइने, कलंकी–नागढुंगा, कलंकी–भीमढुंगा–धादिङ्ग, फस्कूचोक–नर्सरी भन्ज्याङ्ग–स्युचाटार नर्सरी, नर्सरी भन्ज्याङ्ग–स्वीजरल्याण्ड पार्क, तीनथाना–मच्छेगाउँ सडक लगायतका रणनीतिक सडकहरुको विस्तार तथा स्तरोन्नति गरिने उल्लेख छ ।

आर्थिक सामाजिक अन्तर्गत दहचोक कालु पाण्डे समाधि–कंकाली–नर्सरी–थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौंला पदयात्रा मार्ग र सो मार्गमा आवश्यक पर्यटकीय पूर्वाधारसञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । छिमेकी धादिङ्ग जिल्लाका ग्रामीण क्षेत्रका उत्पादन मुख्य शहरी क्षेत्रमा उपभोगका लागि गाउँ–शहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने, सघन करेसाबारी खेती, कौसी खेती, हाइड्रोपोनिक, घरभित्रै गरिन जस्ता शहरी खेतीका विभिन्न प्रकारलाई भान्साबाट उत्सर्जित हुने फोहरसँग एकीकृत गरी प्रभावकारी ढंगबाट सञ्चालन गरिने नीति अघि बढाइने उल्लेख गरेको छ ।

केपी ओली सरकारका शिक्षा, विज्ञान तथा प्रबिधि , श्रम तथा रोजगार, वन तथा वातावरण, युवा तथा खेलकुल, स्वास्थ्य र शहरी विकास मन्त्री भइसकेका प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले घोषित प्रतिबद्धता अनुसार काम गर्ने बचनबद्धता व्यक्त गरे । प्रदेश सांसदद्धय महर्जन र पोखरेलले आफ्नो क्षेत्रको विकासमा जनतासँगसँगै अघि बढ्ने बताएका छन् । नेताद्धय पुर्व वागमती प्रदेश मन्त्री डा. अजयक्रान्ति शाक्य, कामपाका पुर्व मेयर विद्यासुन्दर शाक्य, निर्वाचन परिचालन कमिटिका अध्यक्ष अवन्ति सिग्देल सहितको उपस्थितिमा भएको प्रतिबद्धतापत्र सार्बजनिक कार्यक्रममा मंसिर ४ गते एमालेको सुर्य चिन्हमा मतदान गर्न आब्हान गरेका थिए ।

सो क्षेत्रको उम्मेदवारको प्रतिबद्धतापत्रमा वैदेशिक रोजागारीबाट फर्केका जनशक्तिलाई अत्याधुनिक कृषि परियोजनामा संलग्न गराउँन युवा कृषि उद्यमी अनुदानको व्यवस्था गर्ने, परम्परागत कपडा बुन्ने हातेतानको उत्पादनको बजार व्यवस्था गरी वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

सांस्कृतिक संरक्षण अन्तर्गत ऐतिहासिक बलम्बु गाउँलाई सम्पदा बस्ती, काठमाडौं महानगरका १२, २१ र २२ वडाहरुलाई सम्पदाको नगरको रुपमा विकास गरिने, चन्द्रागिरि र नागार्जुन नगरमा एक÷एकवटा नमुना काँठे गाउँको निर्माण गरी होमस्टे सञ्चालन गर्ने, नेवाः सभ्यता, जात्रापर्व, दाफा बाजां खल, गुथि, भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धतामा जनाइएको छ ।

त्यस्तै चन्द्रागिरी र नागार्जुन नगरपालिका क्षेत्रमा रहेका तामाङ्ग जातिको संस्कृति प्रवद्र्धन गर्न “तामाङ्ग साँस्कृतिक केन्द्र स्थापना” गर्ने, जम्मुदीप (टेकू दोभान)को गुरुयोजना निर्माण गरी संरक्षणको कार्यक्रम अगाडि बढाइने, धरहरा सुन्धारा परिसरमा स्थानीय माग अनुसार सामाजिक पुर्वाधार निर्माणमा जोड दिने उल्लेख गरिएको छ ।

सीम क्षेत्रको संरक्षण गर्दै घट्टे खोला, बाख्रे खोला, डौडाली खोला, सिस्ने खोला लगायत जंगलका फेदमा पानी संकलन केन्द्र तथा रिचाज केन्द्र निर्माण गरी तल्लो तटका पानीका स्रोत संरक्षण गर्ने, सहरी क्षेत्रभित्र सामुदायिक आकासे पानी संकलन केन्द्र (रेन वाटर हार्भेष्टिङ्ग योजना) लागू गरिने, विष्णुमती नदी कोरिडोर, बल्खु खोला (ईन्द्रमती) कोरिडोर, मनमती कोरिडोरमा मर्यादित वैकल्पिक यात्राको प्रबन्ध गर्ने, हिंसापीडित महिलाहरुका लागि मुद्दाको किनारा नलागेसम्म उनीहरुका लागि महिला सेवा पुनःस्थापना केन्द्र स्थापना गर्ने, युवालाई रोजगारी खोज्ने भन्दा रोजगारी सर्जकका रुपमा तयार गर्न अनिवार्य युवा उद्यमशीलता कार्यक्रम लागूगर्ने उल्लेख गरिएको छ ।