Dhulikhel Eco Banner new

सम्झौता भएको ६ महिनामा पनि किन भएन प्राइम, यूनियन र गुराँस लाइफको एकीकृत कारोबार ?

4.85K
shares

काठमाडौं, २१ कात्तिक । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउनका लागि निर्देशन दिएपछि धेरै कम्पनीले मर्जरका लागि सम्झौता गरे । बीमा समितिले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्बको चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । जस अनुसार कम्पनीहरुले मर्जरमा जानका लागि सम्झौतासमेन गरेका छन् ।

मर्जरको सम्झौता गरेका कम्पनीमध्ये हुन प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी । यी कम्पनीले मर्जरको सम्झौता गरेको ६ महिना पुगेको छ । तर मर्जरको सम्झौतामा हस्ताक्षर भएको  लामो समयसम्म पनि यी कम्पनीले एकीकृत कारोबार भने गर्न सकेका छैनन् । यी तीन कम्पनीले वैशाख २९ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यी कम्पनीहरुले कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने जानकारी दिएका थिए । तर विस्तृत लेखापरीक्षण र बीमांकीय मूल्यांकनको काममा ढिलाई भएकाले तोकिएको समयमा एकीकृत कारोबार हुन नसकेको बताइएको छ । अहिले यी कम्पनीलहरुले कात्तिक महिनाभित्र एकीकृत कारोबार गर्नेगरी काम अघि बढाइरहेको बताएका छन् ।

डीडीए रिपोर्ट आउने अन्तिम चरण रहेकाले केही समय लागेको गुराँस लाइफ इन्स्योरेन्सका सूचना अधिकृत बोधलाल पुरीले जानकारी दिए । डीडीए रिपोर्ट आएपछि विशेष साधारण सभाको अयोजना हुने र त्यसपछि काम सुरु हुने उनको भनाइ छ ।

गुराँस, प्राइम र यूनियन लाइफ इन्स्योरेन्स एक बराबर एकको अनुपातमा गाभिने सम्झौता भएको थियो । तीन कम्पनी मिलेर संयुक्त कम्पनी बन्दा चुक्ता पुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्ने छ ।