निर्धन उत्थान लघुवित्तको नाफा ८३ प्रतिशतले घट्यो
वि.सं.२०७९ कात्तिक २७ आइतवार १०:३७
shares

काठमाडौं, २७ कात्तिक । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट २४.२३ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १०.५० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८३.८८ प्रतिशत घटेको छ ।
निष्क्रिय कर्जा ३.५५ प्रतिशतविन्दु बढेर ७.१४ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ९२ हजार रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा उल्लेख्य घट्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ ७२ पैसा घटेर ५ रुपैयाँ ९३ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५३.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ ।



















