Dhulikhel Eco Banner new

ब्याजदरको व्यवस्थापन गरी ब्याजदरलाई खुल्ला राख्न सहकारी महासंघको माग

5.03K
shares

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ व्याजदरको व्यबस्था तत्काल पुनरावलोकन गर्न माग गरेको छ ।

महासंघले तत्काल सन्दर्भ व्याजदर पुनरावलोकनका साथै उक्त सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा नभई बजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष माग गरेको हो।

सन्दर्भ व्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउदै आएको भएतापनि हालसम्म सन्दर्भ व्याजदर पुनरावलोकन नहुन दुःखद कुरा भएको महासंघले जनाएको छ ।

सहकारी संघरसंस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधीकरण, वचत तथा कर्जा सुरक्षण गठनमा ढिलाई भएका कारण सहकारी संघरसंस्थामा जोखिम वढदै गएको महासंघले जनाएको छ ।

अर्कोतर्फ वित्त वजारमा व्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको महासंघले उल्लेख गरेको छ ।

साथै, महासंघले सहकारी संघरसंस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरणको अविलम्व गठनका लागि समेत नेपाल सरकारसमक्ष माग गरेको छ।

पछिल्लो समय वित्तीय अनुसासनका अभावले केही संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्यप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महांसघका अध्यक्ष मिनराज कँडेलले बताएका छन् ।

कोभिड १९ महामारी, रूस(युक्रेन युद्ध, असन्तुलित व्यापार घाटा, उच्च मूल्य वृद्धिका कारण समग्र अर्थतन्त्रमा परेको असरबाट सहकारी क्षेत्र पनि प्रभावित भएको महासंघले उल्लेख गरेको छ ।

जसका कारण सदस्यहरूमा लगानी भएको सांवा व्याज असुलीमा समस्या आई सहकारी संघरसंस्थाको भुक्तानी सन्तुलन प्रभावित भएको महांसघले जनाएको छ ।

समग्र अर्थतन्त्रमा आएको यस प्रतिकुल अवस्थालाई ध्यान दिई संस्था सुसञ्चालनमा जिल्ला, प्रदेश तथा विषयगत केन्द्रिय संघहरू, राष्ट्रिय सहकारी बैंक तथा यस महासंघ क्रियाशिल रहेको आमसमुदायमा जानकारी गराउदै संस्थाप्रति सदस्यको दायित्व पालना गर्दै निर्धक्कका साथ कारोवार गर्नहुन आमसहकारीकर्मीहरूमा महासंघले अपिल गरेको छ।

साथै, सहकारी संघरसंस्थाहरूले आफ्नो सदस्यहरूसंग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराव कर्जा असुलीमा विशेष ध्यान दिन समेत महासंघले आग्रह गरेको छ ।

यस प्रतिकुल अवस्थामा जिल्ला तथा प्रदेश स्तरीय संघहरू, नेफ्स्कुन लगायत विषयगत केन्द्रीय सहकारी संघहरू तथा राष्ट्रिय सहकारी बैंकलाई नियमित रूपमा सदस्य संस्थाहरूसंग समन्वय र सहकार्य गरी सहजीकरण गर्न समेत महासंघले अपिल गरेको छ ।