१५ महिनापछि शोधानान्तर स्थिति वृद्धिमा
वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:४२
shares

काठमाडौं, ३० कात्तिक । १५ महिनापछि देशको शोधानान्तर स्थितिमा वृद्धि भएको छ । लगातार रुपमा घाटामा रहेको शोधानान्तर स्थिति (देशबाट बाहिरिनेभन्दा भित्रिने रकम) बढेको हो ।
२०७८ सालको असारदेखि शोधानान्तर स्थिति लगातार रुपमा घटेको थियो । लगातार रुपमा शोधानान्तर स्थिति घाटामा रहेको भन्दै सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यस्तै प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नु पर्ने देखि १० बस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
२०७८ जेठमा १५ अर्ब १४ करोड रुपैयाँले शोधानान्तर स्थिति घाटामा गएको थियो । २०७८ असारमा भने शोधानान्तर स्थिति १ अर्ब २२ करोडको बचतमा थियो । त्यस यता लगातार घाटामा रहेको शोधानान्तर स्थिति चालु आर्थिक वर्षको असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत आर्थिक वर्षमा शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा थियो ।
चालु आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा थियो । यस्तै, भदौमा समेत शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो । चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब १९ करोड डलर रेमिट्यान्स आएपछि विदेशी मुद्राको सञ्चिति बढेको छ ।
















