फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा ६३ प्रतिशतले घट्यो
वि.सं.२०७९ मंसिर १ बिहीवार ०९:१३
shares

काठमाडौं, १ मंसिर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६३ प्रतिशत बढीले घटेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ६३.८० प्रतिशतले गिरावट आएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३८.५५ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २७.७५ प्रतिशत घटेको छ । समिक्षा अवधिमा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ । जसका कारण सञ्चालन मुनाफा ४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ३९ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७८.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ ।
















