Dhulikhel Eco Banner new

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

5.41K
shares

काठमाडौं, १९ मंसिर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।

रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम कमाउन सकिने भएपछि उनले यो व्यावसायलाई २२ वर्षदेखि धान्दै आएका छन् । करिब एक रोपनी जग्गामा बिरुवा उत्पादन गर्नुभएका दुवाडीले यस पटक रु दुई लाख ५० हजार बराबरको आम्दानी हुने बताउछन् ।

“प्याज, काउली, बन्दाको माग धेरै छ, मागअनुसार पु¥याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन”, उनले भने, “मङ्सिर सुरु भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेल्ने बेच्ने काममा दैनिकी बितेको छ ।” सानो लगानीमा रु तीनदेखि चार महिनामा लाखौँ कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यावसायमा निरन्तर लागिरहेको दुवाडी बताउछन् । यस पटक बीउ खरिद, मलजलसहित करिब रु ३० हजार नर्सरीमा लगानी परेको छ ।

“लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवार साथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ”, उनले भने । उमेरले उनि ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उनको जोँश, जाँगर जवानीकै जस्तो देखिन्छ । बिरुवा हेरचाह रेखदेख र बिक्री गर्दै उनको दिन बित्ने गरेको छ । बिना तालिम उनले सो व्यवसाय अगाडी बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रुपमा चिनिएका छन् । अहिलेसम्म कुनै सङ्घ संस्था, निकायबाट सहयोग भने उनले पाएका छैनन् । समयानुसार विभिन्न जातका बिरुवा उत्पादन गछैन् ।

व्यावसायिकरुपमा बिरुवा उत्पादन गर्न थालेपछि दिनहुँ हातमा दाम र समाजमा राम्रंो पहिचान बनेको उनका श्रीमती मतिकला दुवाडी बताउछिन् । काठमाडौँ, पोखरा, गोरखा, चितवन, बुटवलमा पनि बिरुवा पठाएका छन् । दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ । पाल्पाको निस्दी गाउँपालिका–१ डमराका यामबहादुर खाणले बर्सेनि यहीँबाट प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताउछन् ।