Dhulikhel Eco Banner new

फस्टाउँदै प्रतिबन्धित खेसरी खेती

10.11K
shares

काठमाडौं, ८ पुस । सरकारले खेसरीको दाल बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । नेपालको तराईमा उत्पादन हुने निकै स्वादिलो खेसरीको दालको प्रयोग गर्दा प्यारलाइसिस हुने भएकाले यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तर प्रतिबन्ध लगाएको खेसरीको उत्पादनमा भने कुनै रोकतोक छैन् ।

तराइका जिल्लामा खसरीको खेती फस्टाइरहेको छ । प्रयोग गर्न नपाइने वस्तु उत्पादन भएको तर्फ सरकारको ध्यान जानु पर्ने देखिन्छ । उत्पादन भएको वस्तु किसानले खोलामा त फाल्दैनन् होला ? अवश्य पनि प्रयोग गर्छन । अनि सरकार भने यसको साग समेत प्रयोग हुने भएकाले खेती हुने गरेको भन्दै पन्छिएको छ ।

नेपालमा उत्पादन हुने खसेरी स्वास्थ्यका लागि हानिकार भएको विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको छ । विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले प्रतिबन्ध लगाएको यो दाल प्रजातिको बनस्पतिको खेती मोरङका विभिन्न जिल्लामा भइरहेको छ । खेसरीको दालको प्रयोगमा ५ दशक पहिले प्रतिबन्ध लगाइएको हो । यति लामो समयदेखि प्रतिबन्ध लगाएको भए पनि यसको उत्पादन भने भइरहेको पाइएको हो ।

खेसरीको खेती गर्नका लागि अन्य बाली जस्तो मल नचाहिने तथा खनजोत समेत गर्नु नपर्ने भएकाले किसानहरुले यसको खेती गरिरहेका हुन् । सरकारले समयमा मलको व्यवस्था गर्न नसकेका कारण अन्य बालीको उत्पादन नहुने भएकाले धान काटिसकेपछि किसानले खेतमा खेसरी छर्ने गरेका छन् । अरु जस्तो मेहनत गर्नु नपर्ने भएकाले खेसरी खेती गर्ने गरेको मोरङको थलारीका किसान पंखराम दनुवारले बताए ।

खानका लागि पनि स्वादिलो हुने र धान काटेको खेतमा यतिकै छर्दिदाँपनि हुने भएकाले यो यसको खेती गरिएको उनले सुनाए । अन्य बालीको तुलनामा निकै सहज हुने भएकाले मोरङका धेरै ठाउँमा खेसरीको खेती भइरहेको छ । यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ । यदि होइन भने मानव स्वास्थ्यका लागि हानिकार वस्तुबाट स्थानीयको स्वास्थ्यमा असर पर्ने देखिन्छ ।

धान काटेपछि यतिकै छर्ने र सजिलै उत्पादन हुने भएकाले यसको खेती गरिरएको जिल्लाको डंग्राहाका किसान पमेश्वर रायले बताए । ‘अरु खेती गर्नका लागि मल चाहिन्छ, त्यसका साथै खनजोत पनि गर्नु पर्छ तर खेसरीका लागि मल नचाहिने र खनजोत नगर्न भएकाले खेति गरिरहेका छौँ,’ उनले भने ।

अहिले मोरङ जिल्लाको थलाहा, मोतिपुर, डंग्राह, भुताहा, अमाई वरियाछी, करसिया, डाइनिया, गोविन्दपुर लगायत क्षेत्रमा यसको खेती भइरहेको छ । मोरङ सहित प्रदेश नम्बर १ का तराइका जिल्लामा यसको खेती हुने गरेको जानकारहरुको भनाइ छ । नेपालमा परम्परागत रुपमा खेती गरिने खेसरी जातमा एक प्रकारको टक्सिनको मात्र अत्यन्तै बढी हुने र नियमित छ महिना खेसरीको दाल सेवन गर्दा मानव स्वास्थ्यको स्नायु तन्त्रमा हानी हुने भएको कारण त्यसमा प्रतिबन्ध लगाएको बताइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा.मतिना जोशी वैद्यले भने प्रतिबन्ध लगाएको भए पनि गाँजा जस्तै खेतमा नै गएर नष्ट गर्ने कार्य भने नभएको बताइन । नेपाल भारत लागाय देशमा यसको दालमा प्रतिबन्ध लगाइएको भए पनि साग समेत खान मिल्ने भएकाले बारिमै नष्ट नगरिएको उनको तर्क छ ।

‘खेसरीको दाल खाँदा कुपोषित मानिसहरुलाई प्यारलाइसिस हुने समस्या देखिएको छ । तर खानाको मात्रा पुर्‍याएर खानेहरुका लागि भने यो त्यति खतरनाक देखिदैन,’ उनले भनिन । दाल नै बनाएर वा अन्य दालमा मिसायर बेचेको खण्डमा कानुन अनुसार कारबाही हुने उनको भनाइ छ । यसका लागि यो विषयमा जानकारी प्राप्त भएपछि प्रयोगशालाबाट प्ररिक्षण गरेर त्यसमा संलग्नलाई कारबाही हुने उनको भनाइ छ ।

यो विषयमा जानकारी नभएका किसानहरुले सहजताका लागि र स्वादका लागि खेसरीको खेती गरिरहेका छन् । तर नियमन गर्ने निकाय भने बारिमा नै गएर नष्ट गर्ने कानुन नभएका कारण नष्ट गर्न नसकिने जबाफ दिइरहेको छ । खानका लागि उपयुक्त नभएको वस्तुको उत्पादन गर्नमा रोक लगाउने तर्फ राज्यले सोच्नु पर्ने आवश्यकता देखिएको छ ।