सेन्ट्रल फाइनान्सको नाफा ९८ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सुचकहरु ?
वि.सं.२०७९ माघ ११ बुधवार ११:११
shares

काठमाडौं, ११ माघ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा करिब १०० प्रतिशत घटेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.८६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.६३ प्रतिशत घटेको छ । फाइनान्सको इम्पेरमेन्ट चार्ज २ करोड रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यससँगै सञ्चालन मुनाफा ९८.९४ प्रतिशत घटेको छ ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ८७ पैसा घटेर ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ४३२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८ पैसा रहेको छ ।
चुक्ता पूँजी ९४ करोड ८८ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोष ०.९६ प्रतिशत घटेको छ । समीक्षा अवधिमा फाइनान्सको सापटी १.५६ प्रतिशत बढेको छ भने कर्जा २.०३ प्रतिशत घटेको छ ।















