निजी क्षेत्रको मनोबल बढाउने तर्फ राज्यले ध्यान दिनु पर्छ : वरिष्ठ उपाध्यक्ष अग्रवाल
वि.सं.२०७९ माघ १९ बिहीवार ११:३८
shares

काठमाडौं, १९ माघ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रको मनोबल बढाउने तर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको गर्थन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अग्रवालले राज्यको ढुकुटी नभएका कारण अहिलेको अवस्था आएको बताएका हुन् ।
अहिलेको बैंकको बढ्दो ब्याजदरलाई नियन्त्रण गर्न आवश्यक रहेको र त्यसका लागि नियामक निकायले पहल गर्नु पर्ने उनको भनाइ थियो । मौद्रिक नीतिबाट आयातमा कडाइ गरिएको र त्यसले राजश्वमा असर गरेर अहिले सरकारले तलब समेत खुवाउनका लागि समस्या भइरहेको उनको तर्क थियो ।
सरकारले निजी क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । नेपाली रुपैयाँको अवमूल्यन भएकाले पनि समस्या भएको उनले बताए । उनले अहिले उद्योगी व्यवसायीसँग पैसा नभएको भन्दै त्यो पैसा कहाँ गयो भन्दै प्रश्न पनि गरे । त्यो पैसालाई खोज्नु पर्ने समय आएको उनको भनाइ थियो ।
उद्योगी अर्थत निजी क्षेत्रसँग पैसा नहुँदा राज्य विकासको बाटोमा अघि बढ्न नसक्ने उनको दाबी छ । ‘आयात कडाइ गरेर समस्या समाधान हुँदैन यसले राज्यको राजश्वमा गिरावट आउने र राज्यलाई नै समस्या खडा हुन्छ,’ उनले भने ।


















