Dhulikhel Eco Banner new

कसरी पुर्‍याउँदै छन् बीमा कम्पनीले चुक्ता पुँजी, कुन कम्पनीको चुक्ता पुँजी कति ?

14.03K
shares

काठमाडौं, २ चैत । नेपाल बीमा प्राधिकराण (साविक बीमा समिति) ले बीमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्नका लागि निर्देशन दियो । प्राधिकरणले निर्देशनसँग चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा जानका लागि पनि सुझाब दियो । प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरु मर्जरमा जाने कुरा पनि सुरु भयो । केही बीमा कम्पनी एक आपसमा मर्ज भएर संयुक्त कारोबार पनि गरिसकेका छन् भने केहीले संयुक्त कारोबार गर्ने तयारी गरिरहेका छन् ।

केही कम्पनीहरुले मर्ज भएर पनि प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन नसक्ने देखिन्छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पुँजी कायम गर्न भनेको छ । जीवन बीमा तर्फ हालसम्म नेपाल लाइफ इन्स्योरेन्सको मात्रै चुक्ता पुँजी पुगेको अवस्था छ । यो कम्पनीको चुक्ता पुँजी प्राधिकारणले बढाउन निर्देशन दिनुभन्दा पहिले नै ५ अर्बभन्दा बढी थियो ।

अहिले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका सूर्य ज्योति लाइफको चुक्ता पुँजी सूर्य र ज्योति लाइफ मिल्दा पनि ५ अर्ब पुग्न सकेको छैन। सूर्य ज्योति लाइफले ५ अर्ब चुक्ता पुँजी कायम गर्नका लागि अझै ४५ करोड ४४ लाख २७ हजार ९०० रुपैयाँ थप्न पर्ने हुन्छ । यो अवस्थामा बाँकी रहेको पुँजी पुर्‍याउनका लागि बोर्डले नै निर्णय गर्ने सूर्य ज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेश प्रसाद मैनालीले जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार अहिलेको अवस्थामा सबैभन्दा कम चुक्ता पुँजी राष्ट्रिय बीमा संस्थानको रहेको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । यो सरकारी स्वामित्वको संस्था हो । संस्थानले प्राधिकरणले तोकेको पुँजी पुर्‍याउनका लागि ४ अर्ब ८१ करोड ८९ लाख ८० हजार रुपैयाँ थप्नु पर्ने हुन्छ ।

पछिल्लो समय मर्जरको अन्तिम अवस्थामा रहेका प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्बभन्दा बढी पुग्ने छ । यी तीन कम्पनी मर्जर भएर बन्ने कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड पुग्ने छ । त्यस्तै बीमा प्राधिकराणले तोकेको पुँजी पुर्‍याउन नसक्ने कम्पनीहरु अहिले मर्जरको तयारीमा रहेका छन् । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउनका लागि रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेस मर्जको तयारीमा रहेको रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । यी दुई कम्पनी मिल्दा पनि प्राधिकरणले तोकेको चुक्ता पुँजी अपुग हुन्छ । यी दुई कम्पनी मिल्दा ४ अर्ब १० करोड पुग्छ । बाँकी रहेको अपुग पुँजी बोनश वितरणबाट पुर्‍याउने तयारीमा रहेको पोखरेको भनाइ छ ।

हालको अवस्थामा प्राधिकरण तोकेको चुक्ता पुँजी पुर्‍याउनका लागि अधिकाशं कम्पनीले मर्जरको तयारी गरिरहेका छन् । अहिलेको अवस्थामा नेशनल लाइफ इन्स्योरेन्सले ३५ करोड ९५ लाख ६८ हजार १२५ रुपैयाँ चुक्ता पुँजी अपुग छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ अर्ब ३४ करोड ६८ लाख, एशिएन लाइफ इन्स्योरेन्स्को २ अर्ब ९ करोड १८ लाख ८८ हजार ९२५, त्यस्तै सानीमा लाइफ, प्रभु लाइफ इन्स्योरेन्सको ३ अर्ब पुँजी अपुग रहेको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरको अन्तिम तयारीमा रहेका छन् । यी दुई कम्पनी मिल्दा पनि केही पुँजी अपुग हुन्छ ।

कुन जीवन बीमा कम्पनीको कति छ पुँजी ?

 

सि. नं. जीवन बिमा कम्पनीको नाम चुक्ता पुँजी थप्नुपर्ने पुँजी
१. राष्ट्रिय बिमा संस्थान १८,१०,२०,००० ४,८१,८९,८०,०००
२. नेशनल लाइफ इन्स्योरेन्स ४,६४,०४,३१,८७५ ३५,९५,६८,१२५
३. नेपाल लाइफ इन्स्योरेन्स ८,२०,७९,६६,५५४ प्रर्याप्त
४. लाइफ इन्स्योरेन्स कर्पोरेशन २,६५,३२,००,००० २,३४,६८,००,०००
५. एसियन लाइफ इन्स्योरेन्स २,९०,८१,११,०७५ २,०९,१८,८८,९२५
६. गुराँस लाइफ इन्स्योरेन्स २,२३,९३,७०,००० २,७६,०६,३०,०००
७. प्राइम लाइफ इन्स्योरेन्स ३,१४,०९,६५,६०२ १,८५,९०,३४,३९८
८. आईएमई लाइफ इन्स्योरेन्स २,८०,००,००,००० २,२०,००,००,०००
९. युनियन लाइफ इन्स्योरेन्स २,१५,००,००,००० २,८५,००,००,०००
१०. सन् नेपाल लाइफ इन्स्योरेन्स २,२४,००,००,००० २,७६,००,००,०००
११. रिलायन्स लाइफ इन्स्योरेन्स २,१०,००,००,००० २,९०,००,००,०००
१२. रिलायबल लाइफ इन्स्योरेन्स २,८०,००,००,००० २,२०,००,००,०००
१३. सिटिजन लाइफ इन्स्योरेन्स २,६२,५०,००,००० २,३७,५०,००,०००
१४. सानिमा लाइफ इन्स्योरेन्स २,००,००,००,००० ३,००,००,००,०००
१५. प्रभु लाइफ इन्स्योरेन्स २,००,००,००,००० ३,००,००,००,०००
१६. महालक्ष्मी लाइफ इन्स्योरेन्स २,१०,००,००,००० २,९०,००,००,०००
१७. सूर्य ज्योति लाइफ इन्स्योरेन्स ४,५४,५५,७२,१०० ४५,४४,२७,९००