राजश्व संकलनका नाममा सरकारले व्यवसायीलाई थप पीडा दियो : वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठ
वि.सं.२०७९ चैत १७ शुक्रवार १५:५८
shares

काठमाडौं, १७ चैत । सरकारले बढी राजश्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले बताएका छन् । निजी क्षेत्रका व्यवसायीलाई राहत दिनु पर्ने अवस्थामा छापा मारेर राज्यले व्यवसायीलाई दुख दिइरहेको उनले आरोप लगाएका हुन् ।
‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ । यसैको कारण अर्थतन्त्र पनि समस्यामा परेको छ,’ उनले भने, ‘अहिले सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरिरहेको छ ।’ आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोवल उकास्न पर्ने उनको भनाइ थियो ।
बजारमा आएको मागको गिरावटको कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री नै नभउको अवस्थामा बैंकको कर्जा र ब्याज तिर्नका लागि नै व्यवसायीलाई समस्या भइरहेको उनले बताए । यो अवस्थामा सरकारले व्यवसायीलाई सहज बनाउनु पर्ने भए पनि कर उठाउनका लागि थप समस्या भएको भएको उनको भनाइ थियो । ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ,’ उनले भने । देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
यसैगरी अहिलेको अवस्थामा व्यवसायीक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए । ‘अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न सकेको छैन,’ उनले भने । ‘जवसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रीय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको मान्न नसकिने उनको भनाइ थियो ।
अहिले महासंघको पुरानो गरिमामा आँच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई कायम राखेर व्यवसायीलाई सम्मानित बनाउने उनको भनाइ छ । ‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’
यसैगरी कार्यक्रममा उमेशलाल समुहबाट जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन् । ‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने ।
















