नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजनीति यात्रा
वि.सं.२०७९ चैत १७ शुक्रवार १७:०८
shares

काठमाडौं, १७ चैत । शुक्रबार पुनर गठन भएको नयाँ गृहमन्त्रीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् । यस अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेका श्रेष्ठले गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ १८ वर्षको भूमिगत जीवनपछि ०६५ मा सार्वजनिक भएका थिए । गोरखाको जौबारीमा, पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमाया श्रेष्ठको कोखबाट वि.स २०१६ सालमा जन्मेका श्रेष्ठको चार पुस्ता अगाडिको पुर्खा उपत्यकाको पाटनबाट जौबारी पुगेको थियो । श्रेष्ठको बुवा–आमाको निधन भैसकेको छ भने पाँच दाजुभाइमध्ये उनी ठुलोकान्छो हुन् ।
श्रेष्ठले एकदेखि १० कक्षासम्म गाँउकै विद्यालयमा अध्ययन गरेका थिए । उनले जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । त्यस्तै उनले अर्थशास्त्रमा पनि स्नातक गरेका छन् । मेडिकल साइन्सको प्राम्भिक अध्ययन पनि श्रेष्ठले गरेका छन् । उनले केही समय हेल्थपोस्टमा र सिद्धार्थ वनस्थली विद्यालयमा शिक्षण गरेको अनुभव पनि छ ।
एक समय उनी पत्रकारितामा समेत संलग्न थिए । राजनीतिक जीवन क्रममा मुल्यांकन, गर्जन जस्ता पत्रिकाको सम्पादन गर्ने जिम्मेवारी पनि उनले पुरा गरे । तर औपचारिकभन्दा अनौपचारिक अध्ययनलाई बढी जोड दिने श्रेष्ठले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे गहिरो अध्ययन गरेका छन् । उनलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिन लिखित ‘राज्य र क्रान्ति’ हो ।
१५ वर्षमा एसएलसीको अध्ययन सम्पन्न गरेका श्रेष्ठ कलिलो उमेरमा नै जेल परे । ०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । त्यहाँबाट छुटेपनि दोस्रो पटक ०३६ सालमै उही आरोपमा गोर्खा जेलमा राखियो । तेस्रो पटक ०४५ सालमा जनआन्दोलनको तयारीको बेला उनलाई राजकाज मुद्धा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयको हिरासतमा राखिएको थियो ।
भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उनले राजनीतिक गतिविधि गरेका थिए । उनले– क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति भाग—१, माघ १९ र क्रान्तिकारी कार्यनीति, माओवादी र माओवादी जनयुद्घ र क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति –भाग २ लगायतका पुस्तकहरू समेत लेखेका छन् । सानै छँदा नै विद्रोही स्वभावका श्रेष्ठ प्रारम्भिक राजनीतिक जीवनमा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए । तर नेपाली काँग्रेसले सामन्तवादसँग सम्झौतापरस्त नीति लिएको महसुस भएपछि उनको यात्रा राजनीतिमा तर्फ मोडियो ।
उनी नेकपा चौथो महाधिवेशन (चौम)मा संगठीत भए । उनलाई गोर्खाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीले ०३८ सालमा पार्टी सदस्यता दिए । उनी पार्टीको सेल कमिटीमा हुँदैगर्दा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टीमा विभाजन भयो । जहाँ मोहनविक्रम समूह अलग भयो । उनले चौमको काठमाडौं जिल्ला समिति सदस्य हुँदै ०४२/४३ सालतिर केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरे ।
२०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहेका थिए । एकता भएपछि ०४७ सालमा एकता महाधिबेशनबाट उनी नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्यमा चयन भए । ०५१ सालमा पार्टी विभाजित हुँदा उनले एकताकेन्द्रको सचिवको जिम्मेवारी लिए । लगत्तै महासचिव बने । नेकपा (मसाल) सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र–मसाल)को महामन्त्री र श्रेष्ठ सहमहामन्त्री बने । ०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उनी एकताकेन्द्र–मसालको महामन्त्री हैसियतमै रहे ।
तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध र राजाको सक्रिय निरंकुशताविरुद्ध आन्दोलनरत पार्टीहरूलाई संयुक्त जनआन्दोलनका लागि एकैठाउँमा ल्याएर संविधानसभामार्फत देशको संघीय गणतान्त्रिक परिवर्तन गर्नमा श्रेष्ठको संयोजनकारी भूमिका रहेको थियो । भारतको सिलगुडीमा वाम पार्टीहरूको संयुक्त बैठक गराउन र ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका लागि तत्कालीन सात राजनीतिक दलहरू र तत्कालीन नेकपा (माओवादी)बीच वार्ता एवं १२ बुँदे सहमति गराउन उनले कुशल र संयोजनकारी भूमिका खेलेका थिए । राजा ज्ञानेन्द्रको सत्ताले उनलाई समेत माओवादीका वरिष्ठ नेताहरूलाई झैं भेट्यो कि मारिहाल्ने सूचीमा राखेको थियो ।
ऐतिहासिक जनआन्दोलनको सफलतासँगै नेकपा एकता केन्द्र–मसाल र नेकपा माओवादीको एकता सम्पन्न भइ एकीकृत नेकपा माओवादी बनेपछि उनी त्यस पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरे । पहिलो संविधानसभा सदस्य बनेका उनी २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । तर उनको उक्त कार्यकाल जम्मा २८ दिनको मात्रै थियो । त्यसपछि २०६८ भदौ १८ मा तत्कालीन एकीकृत माओवादीका अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बने ।
कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको क्रममै नेकपा माओवादी केन्द्र बनेपछि उनी पार्टीको दोश्रो वरियताको स्थानमा उपाध्यक्ष बने । २०७५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा बन्दा श्रेष्ठ नौ जनामध्येको केन्द्रीय सचिवालय सदस्य बने । तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई अलग गराइदिएपछि उनी पूर्ववत् माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नै बने ।
उनी २०७९ साल पुस ११ गते राष्ट्रियसभा सदस्य बने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पुर्बाधार तथा यातायातमन्त्री बने । श्रेष्ठलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट बिभाग परिवर्तन गरी २०७९ चैत्र १७ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।
















