महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिएको प्रति मन्त्री शर्माको आपत्ति
वि.सं.२०८० वैशाख २१ बिहीवार १५:२५
shares

काठमाडौं, २१ वैशाख । सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले, महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिएकोप्रति आपत्ति जनाएकि छिन् ।
काठमाडौंमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा उनले महिलाहरुलाई सुन्दर भएकै आधारमा विज्ञापनको साधनको रुपमा प्रयोग गर्ने गरिएको भन्दै सो कार्यलाई छिटोभन्दा छिटो बन्द गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘महिलाहरुलाई विज्ञापनको साधानको रुपमा जसरी प्रयोग गरिरहेको छ, त्यस्तो गर्न हुँदैन । सुन्दर हुँदैमा विज्ञापनको साधान हुनुपर्ने भन्ने हुँदैन । यसलाई रोक्नु पर्छ । लैङ्गिक समानता र चेतना दिने विषयमा विज्ञापन बोर्ड नियामक निकाय हो, यसले निरन्तर रुपमा चेतना दिएको छ ।’
लैङ्गिक समानता बारे चेतना दिने विषयमा विज्ञापन बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएकी उनले नेपाली समाजमा रहेको लैङ्गिक असमानता, वेदभावलाई हटाउन चेतनामूलक विज्ञापनको आवश्यकता औल्याइन् । वर्तमान समयमा मानिसको चेतना विकास भएपनि व्यवहार पूर्ण रुपमा परिवर्तन हुन नसकेको नसकेको उनको भनाई छ ।
उनले विज्ञापन बोर्ड, चलचित्र बोर्ड जस्ता संस्थाहरु समाज परिवर्तनको लागि काम गर्ने संस्था भएकाले यी संस्थालाई व्यवस्थित गर्न आवश्यक भएको बताइन् ।

















