Dhulikhel Eco Banner new

उद्योग व्यवसायलाई प्रमोट हुने किसिमको बजेट आउँछ : अर्थमन्त्री महत

6.88K
shares

काठमाडौं, ६ जेठ । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने किसिमको बजेट ल्याउने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा भएको छलफलमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु नहुने समेत बताए । ‘हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं,’ उनले भने ।

स्वदेशमा नै उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ थियो । ‘नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं ।’

आफू ज्ञान र अनुभवलाई म उपयोग गरेर अघि बढ्ने उनको भनाइ थियो । यसका लागि ठूलो स्वरमा कराउने कुरामा आफूले विश्वास नगर्ने उनले बताए । ‘सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन,’ उनले भने । आवश्य नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिने उनको भनाइ थियो । ‘धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ,’ उनले भने ।

‘कार्यान्वयन हाम्रो मूल चुनौति हो । ९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । ९ महिनासम्म के गरेर बस्यो ? बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गछौं । यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं । यसबारे गृहकार्य भइरहेको छ । मन्त्री डा. महतले भन्नुभयो, ‘यो भयो भने हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढ्छ ।

पुँजी प्रवाह बढ्छ, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु । समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पुँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर कामको सुरुवात भएको उनले बताए । ‘राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु । ती कुरालाई हामी सुधार गर्छौ । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन’ अर्थमन्त्री डा. महतले भने, ‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ ।’

नेपालले तिर्नु पर्ने सावा र व्याज एकदमै बढ्दै गएको र भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइनसकेको अवस्थामा केही असहज अवस्था रहेको मन्त्री महतको भनाइ छ । अहिलेको अवस्थामा ऋण भुक्तानीमा ध्यान केन्द्रित गर्न थालियो भने पुँजीगत खर्चमा दबाब सिर्जजना हुने उनको धारणा थियो ।

प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सकिने अवस्था अहिले नरहेको उनले बताए । ‘अहिले सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट भाग्न सक्दैनौं । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ । पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

आफू क्षमता, योग्यताले भ्याएसम्म, अहिले देखिएको समस्या समाधानका लागि काम गर्ने उनको प्रतिबद्धता थियो । ‘मेरो ज्ञान र अनुभवले भ्याएसम्म यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, तर त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो,’ उनले भने । यसका लागि इमान्दार र समर्पणका साथ काम गर्दै जानु पर्ने उनको भनाइ थियो ।