भाडाको जग्गामा भेटिएको राधाको खुसी
वि.सं.२०७९ जेठ ११ बुधवार ०७:३०
shares

काठमाडौं, ९ जेष्ठ । सुविधा सम्पन्न सहरहरु काठमाडौं, ललितपुर, भक्तपुर जहाँ प्रसस्त सेवा सुविधा खोज्दै ग्रामीण भेगबाट आफ्नो जमीनलाई बाँजै छोडेर यहाँ जसो तसो जिउपाला गरेर बसिरहेको संख्या धेरै नै देखिन्छ । सुविधा खोज्दै अस्थायी वा स्थायी रुपमा गाउँ छोड्ने प्रविधिले गाउँका बारी बाँझिएको त हामीलाई थाहा छदै छ ।
ललितपुरको बुङमती सोह्रखुट्टे डिस होमको कार्यलयबाट तल हेर्दा एउटा बाक्लो बस्ती देखिन्छ । जहाँ विभिन्न जिल्लाबाट आएर जग्गा भाडामा लिई टहरा बनाई अस्थायी बसोबास गर्नेको संख्या धेरै देखिन्छ । कोही रोजगारीको लागि, कोही पढाईको लागि र कोही आफ्नो बाल बच्चाको भविष्य उज्वल बनाउनका लागि सहरिएका मध्य एक हुन्, राधा मगर ।
ताप्लेजुङको दोबान स्थायी घर भएकी राधा ३ छोरी, श्रीमान र सासु आमासँग सोह्र खुट्टेमा बस्दै आएकी छिन् । उनले जग्गा भाडामा लिएर टहरा बनाएकी छिन् । उनी यहाँ आएको करिब डेढ वर्ष मात्रै भएको छ । उनका श्रीमान् तीन वर्षसम्म मलेसिया बसेर आए ।
पहिरोमा परेर नन्द सहित उनका दुई छोराको ज्यान गुमाएको पीडा छ । हालै उनको परिवारले ससुरा (बुवा) गुमाउनु पर्यो । अहिले उनका श्रीमान, सासुआमा र उनका ३ छोरीहरु एक साथ बस्दै आएको उनले सुनाइन् । उनका एक बहिनी पनि ललितपुरमै बस्छिन् उनकै सुझावले यता आएर काम गर्न थालेको उनको अनुभव छ ।
अहिले उनका श्रीमानले दिउँसो फर्निचरमा काम गर्छन् । धेरैजसो श्रीमानले कमाएर ल्याउने र त्यतिकै बसेका महिलाहरु हाम्रो समाजमा भेटिन्छन । राधा भने २ रोपनी जग्गामा तरकारी लगाएर आम्दानी गर्दै श्रीमानलाई समेत आर्थिक रुपमा सहयोग गरिरहेकी छिन् । विहान बेलुकाको समयमा उनलाई टनेलमा तरकारी खेती गर्नका लागि श्रीमान छोरीहरुले समेत सघाउने गरेका छन् । उनकी जेठी छोरी १२ कक्षा मा पढ्दै छिन भने अर्की छोरी ७ कक्षामा । कान्छी छोरी भने दुई कक्षामा पढ्दै गरेको उनले सुनाइन् ।

उनले तरकारीका लागि आवश्यक पर्न मलका लागि र बारिमा रहेको घाँसको सदुपयोग गर्नका लागि बाख्रा समेत पालेकी छिन् । उनको साथमा अहिले दुईवटा बाख्रा रहेका छन् । यतिमात्रै होइन उनल कुखुरा समेत पालेकी छिन् । उनले बारीमा रायो साग, तोरी साग, फापर साग, सीमी र काँक्रा लगाएकी छिन् । यसरी उनले तरकारी सिजन अनुसार लगाउछिन् । अहिले उनको बारी साग, मकै, सीमी र कांक्राले हराबरा भईरहेको छ ।
तरकारी उनले आफै बेच्न पनि लैजान्छिन् । बेच्नका लागि उनले ललितपुरकै भैसेपाटी चोक सम्म पुराउछिन् । उनले आफ्नो बारीको मात्र नभएर वरिपरि भएका अरुको सागसमेत खरिद गरि बजारसम्म लगेर बेच्ने गर्छिन् । २० रुपैयाँमा खरिद गरेर २५–३० रुपैयाँमा साग बेच्ने गरेको उनले सुनाइन् ।
बोरामा साग लगेर उनी विहान २ बजेनै घरबाट निस्कने गरेको सुनाउँछिन् । जबकी त्यो समयमा सबै मस्त नित्रामा रहेका हुन्छन् । उनी हिड्दै सोह्र खुट्टे सम्म साग बेच्दै जाने र फर्किदा गाडिमा फर्किने गरेको बताउँछिन् । फर्किदा २० रुपैयाँ गाडी भाडा घर जान्छु यसरीनै दिनहरु वितिरहेका छन् । सागको सिजनमा एक दिनमा २५० मुठासम्म साग बिक्री गर्ने गरेको उनले बताइन् । दैनिक बेच्न पाउदैनन् हप्तामा ४–५ दिन बेच्छिन् । ‘साग टनेल भित्र लगाउने भएकाले छिटै हुर्किन्छन् र धेरै दिन खाली बस्न पर्दैन’ उनले भनिन् ।

यसरी नै उनले तीन छोरीको पढाइ खर्च धानेकी छिन् । संगै जग्गाको भाडा पनि साग बेचेकै पैसाले तिर्न सफल भएको सुनाइन् । अहिले जग्गाको भाडा वार्षिक रुपमा ३० हजार तिर्ने गर्छिन । छोरीहरुलाई अर्ध सरकारी स्कुलमा पढाएकि छिन् । श्रीमानको कमाइले घर खर्च चलेको र तरकारी खेतीबाट कमाई भएको रकमले छोरीहरुको अध्ययनमा खर्च हुने गरेको उनले सुनाइन् ।
गाँउमा एकहलको बारी छ, टिनले छाएको घर छ तर उनले बारी र घरलाई छिमेकीको जिम्मा लगाएर आफ्ना हुर्किदै गरेका छोरीहरुको पढाइ राम्रो बनाउन र आफुलाई कमाउन सुविधाको ठाउँ खोज्दै सहर आएको उनी सुनाउँछिन् । गाउँमा एक सिजन मात्रै उत्पादन हुने र त्यो उत्पादनले वर्षभरि समेत नधान्ने गरेको उनको अनुभव छ । उत्पादन भएको बस्तुले बजार समेत नपाउने भएकाले गाउँ छोडेर सहर आएको उनको भनाइ छ । गाउँमा जति गर्दा पनि केही हुँदैन, यहाँ गर्न सके पैसा कमाउन सकिने रहेछ,’ राधिकाले भनिन् ।
गाउँ छोडेर उनी उपत्यका आएको मात्रै डेढ बर्ष मात्रै भयो । गाउँबाट आएको छोटोसमयमै राम्रो काम कमाइ गर्न सजिलो भएको उनले बताइन् । अहिलेको कमाइले आपूmमा नयाँ जोस र जाँगर झनै बढ्दै गइरहेको छ । उनले गरिरहेको काममा उनी उत्साहित देखिन्छिन् र यसबाट खुशी पनि मिलेको बताइन् । अहिले त गाँउमा पनि घरमै रोड पुगेको पनि बताईन र अब बिस्तारै गाँउमा पनि राम्रो हँुदै छ । गाउँमा पनि राम्रो हुँदै गएको अवस्थामा उतै गएर काम गर्ने योजनामा रहेको उनले सुनाइन् ।
हरेक मान्छेहरुका आ–आफ्नै संघर्ष हुन्छन् । ति संघर्षलाई हामी नियमित रुपमा खुसी कोलममा प्रस्तुत गर्नेछौं । खुसी कोलमको यो श्रृंखलामा हामीले जग्गा भाडामा लिएर तरकारी खेति गरिरहनु भएको एक कृषकको खुसीको कथा पस्किएका छौँ । तपाई वा तपाईको नजिकका कोहि मान्छेहरुको खुसी यसरी नै बाढ्न चाहानुहुन्छ भने हामीलाई सिधा सम्पर्क गर्नुहोला ।– सं


















