एभियसन इन्स्योरेन्समा आकर्षण शून्य, हवाई बीमा पुल निर्माण गर्न प्राधिकरण असफल
वि.सं.२०८० असोज १६ मंगलवार १२:१२
shares

काठमाडौं, १६ असोज । बीमा व्यवसाय खस्किरहेको बेलामा त्यसको शिकार बन्न पुगेको छ हवाई बीमा,‘एभियसन इन्स्योरेन्स’ । बीमा क्षेत्रमा फस्टाउन नसकेको केही बीमालेखको नाम लिँदा त्यसमा छुटाउनै नमिल्ने नाममा एभियसन इन्स्योरेन्स पर्न थालेको छ । यस्तो जर्जर अवस्था सिर्जना हुँदा पनि निर्जीवन बीमक सघं खुलेर बोल्न सकेको छैन भने नेपाल बीमा प्राधिकरण मुक दर्शक बनेको छ ।
अहिले हवाई बीमाको तथ्यांक हेर्ने हो भने कूल बीमा व्यवसायको जम्मा ०.५ (शून्य दशमलव पाँच) प्रतिशत मात्रै बीमा भएको छ । यसको मुख्य कारण हवाई बीमामा व्यवसायीहरुको आकर्षण नहुनु नै हो । त्यसो त नेपाली आकाश सुरक्षित छैन भनेर पटक पटक प्रचार हुने गरेको पनि सुनिन्छ । त्यस्ता भनाईहरु प्लेन क्रयास भएको बेलामा, ठूलो जनधन क्षती भएको बेलामा चर्चा हुने गरे पनि केही दिनमा सेलाउने गरेको छ । त्यसरी जोखिम छ कि छैन भनेर चर्चा हुने विषय आफ्नो ठाउँमा भए पनि विगतको तुलनामा हवाई दुर्घटना बढ्दै गएको तथ्यलाई नर्कान सकिन्न । यसरी दुर्घटना बढदै गएको बेलामा हवाई बीमाको संख्या सामान्य बेला भन्दा बढ्नु पर्ने विज्ञहरु बताउँछन् । तर, वास्तविकतामा हवाई बीमा बढ्नुको साटो यसमा धेरै चुनौतीहरु समेत थपिएको हवाई प्रबन्धकहरु गुनासो गर्छन् ।
हवाई प्रबन्धकको गुनासो
नेपालमा हवाईजहाजको बीमाशूल्क (प्रिमियम) निकै महङ्गो रहेको हवाई प्रबन्धकहरुको गुनासो छ । त्यस्तो हुनुमा हवाई बीमा अत्यन्तै कम मात्रामा हुने भएकाले पनि व्यवसाय संख्या निकै कम हुँदा जोखिम बढी हुने भएकाले महङ्गो हुने गरेको निर्जीवन बीमा कम्पनीहरुले बताएका छन् । उनीहरुले हवाई जहाजको बीमा सबै कम्पनीले धान्न नसकेकाले पनि शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेस लगायत केही सिमित कम्पनीले मात्रै त्यस्तो जोखिम उठाउने गरेको बताएका छन् । त्यसरी बीमा गरेपछि नेपाली बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउनुपर्छ । अहिले नेपाली आकाश विगतको तुलनामा असुरक्षित रहेको भन्दै दुर्घटनाका खबरहरु फैलिएसँगै विदेशी पुनर्बीमा कम्पनीले पनि हत्तपत्त नेपाली जहाजहरुको बीमा लिन नमान्ने अवस्था छ । त्यसमाथि पनि नेपाली जहाजको दुर्घटना किन हुन्छ भन्ने ब्ल्याक बक्सको तथ्य कमै बाहिर आउने गर्छ ।
हवाई जहाज दुर्घटनामा हुँदा मानविय त्रुटी भन्दै पाइलटलाई दोष दिने चलन छ । जहाजै पुरानो भएको भन्दै, चराको बस्तीमा हवाई जहाज पुगेका खबरदेखि मौसम अनि जंगली जनावर विमानस्थलमा पसेकासम्म घटनालाई प्रत्यक्ष दोष दिने गरिएको छ । तर बीमा पुनर्बीमा कम्पनीहरुले के कारण दुर्घटना भयो भन्दा पनि दुर्घटनाको दर बढ्यो कि घट्यो भन्ने आँकडाको आधारमा मात्रै बीमा गर्ने गर्छन् । त्यस्तो कोणबाट हेर्दा नेपाली जहाजहरु उच्च जोखिममा रहेको भन्दै पुनर्बीमा कम्पनीहरु बीमा लिन पछि हटने गरेको पनि निर्जीवन बीमा कम्पनीहरु सुनाउँछन् ।
बीमा पुल बनाउँने प्राधिकरणको योजना अलपत्र
नेपाल हवाई दुर्घटनाको जोखिममा पर्न थालेको लामै अवधि गुज्रिसकेको छ । यस्तो अवस्थामा हवाई जहाजहरुमा निकै मोटो रकम अर्बौको लगानी हुने भएकाले त्यसको जोखिम बहन गर्ने एक मात्र बाटो बीमा नै देखिन्छ । हवाई बीमा एकमात्र बाटो भए पनि हवाई बीमा पुल निमार्ण गर्ने बीमा प्राधिकरणको योजना सेलाउदा त्यसले पनि हवाई संचालकहरुलाई निर्धक्क लगानी गर्ने वातावरण सिर्जना गरेको छैन ।
हवाई बीमा पुल निर्माण गर्दा हाल संचालनमा रहेका १४ वटै निर्जीवन बीमा कम्पनीहरुले पुलमा अनिवार्य रुपमा बस्नु पर्ने हुन्छ । त्यसरी पुलमा सबै कम्पनीहरु बस्दा उनीहरुले आआफ्नो व्यवसाय, बीमा शुल्क संकन गर्न पाउँछन् । बीमा शूल्क छु्ट्टा छुट्टै कम्पनीबाट संकलित भए पनि त्यसलाई एउटै बास्केटमा राख्नु पर्ने हुन्छ जहाँ १४ वटै कम्पनीको हवाई बीमाको फण्ड एक ठाउँमा बस्छ । त्यसरी फण्ड बस्दा संकलित रकम धेरै हुन्छ भने कुनै पनि कम्पनीबाट बीमा गरेको जहाज दुर्घटना भएमा त्यही पैसा बीमांक बापत तिर्नु पर्ने हुन्छ । यसले कुनै कम्पनीले धेरै वा कुनैले थोरै व्यवसाय गर्दा नाफामा असर पर्ला कि भन्ने भन्दा पनि एकै पटक दुई अर्बको हवाई जहाजको दुर्घटना हुँदा एकै पटक तिर्न सहज होस भन्ने उद्देश्यले पुलमा जानु पर्ने एक बीमा विज्ञले बताएका छन् ।
ग्राउण्डेड प्लेनको बीमा शूल्क तिर्नुै पर्ने बाध्यता
अन्तराष्ट्रिय प्रचलन अनुसार बीमाको थालनी नेपालमा गरिएको भए पनि कतिपय राम्रा संस्कार पालना गर्न नेपाल बीमा प्राधिकरणले अनाकानी गर्ने गरेको छ । विदेशी राष्ट्रहरुकै प्रचलन अनुसार हवाईजहाजको बीमा हुने गरे पनि नचलेको हवाईजहाज ग्राण्डेड भएको अवस्थामा विदेशी मुलुकहरुमा बीमा शुल्क फिर्ता हुने भए पनि नेपालमा त्यस्तो छुट छैन । चलेको समयमा र रोकिएको समयमा जहाज तथा गाडीहरुको जोखिम नै फरक हुने भएकाले पनि त्यसको बीमा शुल्क समेत फरक हुनुपर्ने माग जहाज कम्पनीहरुले गर्दै आएका छन् । कोरोना महामारीको समयमा लामो समय रोक्किएको अवस्थामा ग्राउण्डेड बीमामा केही छुट दिइएको भए पनि अन्य बेलामा भने त्यो निमयको पालना हुन सकेको छैन ।
एकातिर चर्को बीमाशुल्क बुझाउनु पर्दा हवाई जहाज संचालकहरु रुष्ट छन् भने अर्का तिर आफूले आर्जन गर्ने बीमा शुल्क, आम्दानी तथा नाफा भन्दा जोखिम भार कम्पनीको चुक्ता पूँजी बराबर भएकाले निर्जीवन बीमा कम्पनीहरु हवाई जहाजको बीमा भन्ने बित्तिकै झस्किने गरेका छन् । यस्तो अवस्थामा हवाई बीमा पुल खडा गर्न भने नेपाल बीमा प्राधिकरणले सुस्तता देखाइरहेको छ । छिटो भन्दा छिटो हवाई बीमा पुल खडा गर्नुपर्ने, ग्राउण्डेड जहाजमा हवाई प्रबन्धलाई छुट दिनुपर्ने, बीमाशुल्कको मूल्य समायोजन गर्नुपर्नेदेखि सबै बीमा कम्पनीहरुलाई जहाजको जोखिम बहन गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने मुख्य चुनौती नेपाल बीमा प्राधिकरण समक्ष देखिएको छ ।


















