Dhulikhel Eco Banner new

पोखरा महानगरपालिकाद्वारा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना

676
shares

काठमाडौं, २१ वैशाख । पोखरा महानगर क्षेत्रमा प्रस्तावित बसपार्क निर्माण योजना पाँच दशक बितिसक्दा पनि अलपत्र परेपछि अहिले जग्गा अतिक्रमण, सुकुमवासी व्यवस्थापन र यातायात अस्तव्यस्तताजस्ता समस्या चुलिएका छन्। वि सं २०३२ मा पृथ्वीचोक मा २०५ रोपनी क्षेत्रफलमा आधुनिक बसपार्क निर्माण गर्ने योजना अघि सारिएको थियो । सो क्षेत्रलाई चार किल्ला तोकी राजपत्रमै प्रकाशित गरिए पनि लामो समयसम्म निर्माण कार्य अघि बढ्न नसक्दा अहिले बसपार्कको जग्गा खुम्चिएर ४७ रोपनीमा सीमित भएको छ।

हाल उक्त क्षेत्रमा ४०० भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्। बसपार्क निर्माण नहुँदा लामो तथा छोटो दूरीका सवारी साधनहरू सडक पेटीबाटै सञ्चालन भइरहेका छन्, जसका कारण पृथ्वीचोक क्षेत्रमा दैनिक ट्राफिक जाम र अव्यवस्था बढ्दै गएको छ। यसैबीच पोखरा महानगरपालिका ले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। वैशाख ३ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। पछिल्लो समय काठमाडौं मा समेत अतिक्रमण हटाउने अभियान तीव्र बनाइएपछि पोखरामा पनि त्यस्तै कदम अघि बढाइएको हो।

तर, स्थानीय सुकुमवासीहरूले वैकल्पिक व्यवस्थापन बिना आफूहरूलाई हटाउन नहुने माग राखेका छन्। कृष्ण टोल आमा समूहकी अध्यक्ष रुपा केसीका अनुसार सुकुमवासीहरू विकासको विरोधी नभए पनि उचित पुनःस्थापनाको व्यवस्था भए मात्र स्थान खाली गर्न तयार छन्। यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले पनि प्रभावित परिवारलाई सोही वडा वा नजिकै व्यवस्थापन गर्नुपर्ने बताएका छन्। बिना विकल्प हटाउने निर्णयले आफूहरू चिन्तित भएको उनको भनाइ छ।

उता मजदुर नेता रुद्र गौतमले भने बसपार्क निर्माणका लागि छुट्याइएको पूरै २०५ रोपनी जग्गा खाली गरिनुपर्नेमा जोड दिएका छन्। उनले विगतमा शक्तिको दुरुपयोग गरी जग्गा किनबेच भएको दाबी गर्दै वास्तविक सुकुमवासीलाई दोष दिने प्रवृत्ति गलत भएको बताए। बसपार्क निर्माणको बहुप्रतिक्षित योजना कार्यान्वयनमा ल्याउन अहिले महानगर, स्थानीय बासिन्दा र सरोकारवालाबीच सहमति आवश्यक देखिएको छ।