राष्ट्र बैंकले ७ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
वि.सं.२०८३ वैशाख २१ सोमवार १२:४६
shares

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जनाएको छ।
राष्ट्र बैंकले ३६६ दिन अवधिको मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा संस्थाहरूले आफूले लिन चाहेको रकम र ब्याजदर खुलाउनुपर्नेछ।
कुल लगानीमध्ये वाणिज्य बैंकहरूमा ५ अर्ब ८४ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरूमा १ अर्ब ९ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ३६ करोड ५० लाख रुपैयाँ लगानी गरिनेछ।
रकम लिन इच्छुक संस्थाहरू कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको, तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ। साथै निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा कम, खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको, आवश्यक तरलता अनुपात कायम गरेको तथा कर्जा–निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको हुनुपर्ने शर्त राखिएको छ। निकटतम आर्थिक वर्षमा खुद नाफामा रहेको संस्था मात्र योग्य हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
ब्याजदर प्रस्ताव गर्दा एकभन्दा बढी दर उल्लेख गर्न नपाइने व्यवस्था गरिएको छ। योग्य संस्थामध्ये सबैभन्दा उच्च ब्याजदर प्रस्ताव गर्ने संस्थामा लगानी गरिनेछ। यदि समान उच्च दर प्रस्ताव गर्ने संस्था एकभन्दा बढी भएमा, कोषको लगानी नीतिअनुसार प्रक्रिया पूरा गरी छनोट गरिने राष्ट्र बैंकले जनाएको छ।

















