Dhulikhel Eco Banner new

नशा, सफलता अनि कम उमेरमै सीईओ बनेका जीवन खनालको कथा

39.72K
shares

हरेक मान्छेहरुका आ–आफ्नै संघर्ष हुन्छन् । ति संघर्षलाई हामी नियमित रुपमा खुसी कोलममा प्रस्तुत गर्नेछौं । खुसी कोलमको यो श्रृंखलामा हामीले ट्रेनिएसिसटेन्टबाट जागिर सुरु गरेर माइक्रोफाइनान्सको सीईओसम्म बनेका जीवन खनालको कथा पस्कदैछौं । प्रस्तुत छ, केटिएम भ्वाइसका लागि युकला पौडेलले गरेको ‘खुसी’ कुराकानी :

तपाईहरुको जीवन यात्राबाटै कुराकानीको सुरुवात गरौं, वाल्यवस्थादेखि अहिलेसम्मको यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?

म जीवन खनाल मेरो जन्मस्थल बर्दिया जिल्लाको राजापुुर वडा नं. ६ मा पर्दछ । मेरो बाल्यकाल राजापुुरमै बितेको हो । २०५६ सालमा मैले एसएलसी पास गरे । मेरो १२ सम्मको अध्ययन राजापुर स्थित अमर सहित श्री दशरथ चन्द्र उच्च माध्यमिक विद्यालयमै भएको हो ।

त्यो सँगसँगै उच्च शिक्षाको क्रममा म २०६३ सालमा थप अध्ययनको शिलशिलामा काठमाडौं आए । रोजगारीको शिलशिलामै स्वाबलम्बन विकास केन्द्र (एनजीओ) जसले लघुवित्त कार्यक्रम संचालन गर्दथ्यो । स्वाबलम्वन विकास केन्द्रमा २०६३ सालमा जागिरका लागि छनौट भईसकेपछि रोजगारीको शिलशिलामा पाँचखाल, काभ्रे पुगियो ।

त्यतीबेला सहायक प्रशिक्षार्थीका रुपमा सेवा प्रवेश गरेको थिए र ट्रेनीदेखि नै जागिर सुरु गरे । अहिले २०७८ साल सम्मको अवधिमा स्वाबलम्बन विकास केन्द्र जसले लघुवित्त कार्यक्रम अहिलेको स्वाबलम्वन लघुुवित्त वित्तिय संस्था लिमिटेडलाई हस्तान्तरण गरिसकेको छ ।

स्वाललम्बन लघुवित्त त्यस्तो संस्था हो जसलाई नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक तथा स्वंय स्वाबलम्बन विकास केन्द्रले प्रर्वद्धन गरेको संस्था हो । त्यो संस्थामा मैले काम सँगै जिन्दगिका धेरै पक्षको ज्ञान हासिल गरे ।

काम गर्ने क्रममा अन्य विभिन्न ४/५ ओटा लघुुवित्तहरुमा सिभिल लघुवित्त, स्वदेशी लघुवित्त, आशा लघुवित्त हुदै ३४ वर्षको उमेरमा स्वस्तिक लघुुवित्त वित्तिय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरिसकेको छु ।

तपाइले ४/५ ओटा लघुुवित्त वित्तिय संस्थामा काम गर्नुभयो प्रशिक्षार्थीदेखि कार्यकारी प्रमुखसम्म हुुँदाको अनुभव बताइदिनुस न ?

मैले काम शुरु गर्ने बेलामा बैंकिङ क्षेत्र भनेर वाणिज्य बैक/विकास बैैकलाई मात्र भन्ने गरिन्थ्यो । लघुवित्त भन्ने वित्तिकै जनमानसमा खासै पपुलर पनि थिएन, लघुवित्तलाई गरिव मान्छेको बैंक भनेर पनि चिनिन्थ्यो । अहिलेको जस्तो सेयर बजारका बारेमा खासै मान्छेहरुलाई थाहा थिएन । अहिले लघुुवित्तको सेयर महगों भएर मात्रै मान्छेहरुले बुज्न थालेका हुुन ।

जसले जे भने पनि गाँउमा तथा विपन्न वर्गका व्यक्तिहरु, न्युन आयका भएका व्यक्तिहरुलाई कर्जा दिएर उद्यमी बनाउने नै लघुुवित्त हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैक तथा वित्तीय संस्थाले जति वित्तीय पहुँच पनि लघुुवित्तले नै दिएको हो । सानो सानो कर्जाका कारण गाँउघरका मान्छे उद्यमी बनेका छन ।

लघुवित्तले कर्जा मात्र दिदैन, विश्वास र भरोसा पनि दिन्छ तर अन्य बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्नु र बचत संकलन गर्नु मात्र बैकिङ्ग सेवा दिएको ठान्छन । गाउँमा तथा अन्य क्षेत्रमा बसोवास गर्ने न्युन आय भएका व्यक्तिलाई आर्थिक जागरण ल्याउने लघुुवित्त नै हो यसलाई हामी नकार्न सक्दैनौ ।

काम गर्ने क्रममा सुुरुमा म प्रशिक्षार्थी सहायकको रुपमा पाँचखाल, काभ्रेमा कार्य गरे । फिल्डको काम, कति घण्टा हिडोयो त्यसको त के हिसाव भयो र ? जहाँ गए पनि काममा रमाउने र त्यहाँका महिला दिदिबहिनीको विश्वासले काममा कहिल्यै भौतिक दुःखको अनुभुति भएन ।

दु:ख भन्ने त स्वभाविक छ, भौतिक दुख भन्दा नी केही गर्छु भन्ने अठोट भएको हुनाले काममा सिक्दै रमाउदै नयाँ क्षेत्रमा केही गर्छु भन्ने थियो । घर छोडेर आइसकेको मान्छेलाई आफनो परिचय बनाउन केही गर्नुपर्छ भन्ने अठोट थियो मनमा । शुरुमा प्रशिक्षार्थि अवस्थामा रु. २३०० सय मात्र प्रशिक्षार्थि भत्ता थियो । तर पनि काम यसरी गरियो कि समय गएको थाहा नै भएन ।

यदि तपाईँले मनदेखी काम गर्नुभयो भने आत्मविश्वास बढ्दै जाँदो रहेछ जती आत्मविश्वास बढ्दै गयो मान्छे त्यति सफल हुँदै जाँदो रहेछ जति जति सफल हुँदै गयो कामप्रतिको लगाव त्यति नै बढ्दै जाँदो रहेछ ।

विभिन्न संस्थामा विभिन्न जिम्मेवारी लिएक काम गरे, कतै पनि फर्केर हेर्नु परेन, असफल कतै भईएन र कामप्रति पनि कहिले केही गुनासो रहेन । अहिलेको ट्रेण्ड यस्तो छ की, अहिलेका युवा एकदमै महत्वंकाक्षि छन् तुरुन्तै ६ महिना/ १ वर्षमै बढुवा चाहिने, नभए अर्काे संस्थामा जागिरको खोजि शुरु हुन्छ ।

एक त्यतिखेर मलाई स्वाबलम्बनमा सहायकबाट वरिष्ठ सहायक हुुन ७ वर्ष लागेको थियो त्यो पनि आन्तरिक बढुवाबाट लडेर भएको हो । त्यस्तो स्थिती थियो त्यो बेलामा, त्यो भौतिक दुःखको त कुरै नगरौ, कति हिँडियो त्यतिबेला मोटरसाइकल किन्ने हैसियत पनि हुँदैनथ्यो । किनि हाले पनि सवै तिर मोटरसाइकल जादैन्थ्यो । हिँडेर जानुपथ्र्यो जहाँ गएपनि ।

कति गाउँमा गैयो कहिलेकाहीँ रात पथ्र्यो गाउँमा बास पनि बसियो । यो काम गर्ने क्रममा ललितपुरको शङखुुमा स्वावलम्बन विकास केन्द्रको घुम्ती सेवा कार्यालय थियो, त्यो चै म कहिल्यै जीवनमा बिर्सिदिन म त्यो घुम्ति सेवा कार्यालयमा काम गर्थे र हामीले सदस्यहरुलाई ४० हजार रुपैया कर्जा दिन्थ्यौं ।

ती सदस्यहरुले कर्जा रकमबाट एकै दिन २८ वटा भैंसी एकैदिन किनेर लगेका थिए । गाँउलेको त्यो मुँहारको खुसि म कहिल्यै विर्सन सक्दैन । म प्रतिको त्यो बेलाको सम्मान त अहिले सरकारबाट विभुषित भए पनि मेरो मनलाई मिल्दैन होला ।

जिन्दगीमा ठुलै सफलता प्राप्त गरेको थिए किनभने त्यो गाउँलेहरूको खुसी त्यहाँको स्थिति बिकट, दिनमा एउटा मात्र दुध बोक्ने गाडी जाने त्यो ठाँउमा हामी हिँडेरै जाने गथ्र्यौै तर पनि दुख लाग्थेन । नयाँ–नयाँ ठाउँमा गइयो, काम गर्ने दौरानमा लगभग नेपालको ६०÷६५ वटा जिल्ला घुुमेको छु ।

जति हिडन परेपनि दुख चै कहिल्यै लागेन, नयाँ नयाँ कामहरु सिकिन्थ्यो, अफिसको पैसामा नयाँ नयाँ ठाउँ घुम्न पाइयो भन्ने रुपमा लिइन्थ्यो जहिलेपनि र त्यो काममा रमाइयोे र सिकियो । विभिन्न संस्थामा सोही अनुसार काम गरियो, सदैव आफ्नो जिम्मेवारी पुरा गरियो ।

कति सम्म भने स्वदेशी लघुवित्तमा काम गर्दा ४ महिनामा ४६ वटा शाखा खोलियो र आशा लघुवित्तमा काम गर्दा एकै दिन १३ वटा शाखा कार्यालय । यसरी नै काम गर्दा आज यहाँ सम्म आईपुगेको छु ।

काम गर्दै जाँदा अब त म यो जागिर छोड्छु भन्ने भयो की भएन ?

मान्छेलाई कहिलेकाहीँ आफैमा उत्तेजना आउनु, जागिर प्रति बितृष्णा लाग्नु स्वाभाविक हो । अनेक उत्तेजनाहरू आउँछन, रिस पनि उठछ तर यी सवै कुरा त्यो क्षणिक हुन । क्षणिक कुरालाई जित्न सक्यो भने मात्र मान्छे अगाडि बढ्ने हो ।

तर, तुरुन्तै बदलिन खोज्यो भने मान्छे कहिले पनि अगाडि बढ्दैन । रिस उठ्दा कसको कारणले किन उठेको भन्ने हुन्छ । कहिलेकाई व्यवस्थापनका कारणले भन्दापनि आफ्नै कारणले रिस उठिरहेको या इरिटेसन’ भइरहेको हुन्छ त्यसलाई हामीले छुट्याउन र सम्झाउन सक्नुपर्छ ।

कहिलेकाइ माथिल्लो तह र तल्लो तह बिच ‘अण्डरस्टाण्डि’ नै हुँदैन त्यो बेला धेरै रिस पनि उठ्छ, तल्लो स्तरका कर्मचारीले माथिल्लो तहले गरेको कार्य शैली बुझ्दैन ।

व्यवस्थापनले गरेका प्राय जसो निर्णयहरु सबै तहलाई हेरेर मात्र गरेको हुन्छ तर म एक व्यक्ति एक कर्मचारीको हिसाबले त्यो मलाई कहिल्यै पनि ठीक लाग्दैन । जहाँ पनि त्यही चलेको हुन्छ । ठुलो संस्थाले व्यवस्थापकका रुपमा गरेका कार्यहरु तल्लो तहका कर्मचारीलाई कहीँ पनि मन परेको हुँदैन तर त्यै कर्मचारी जब त्यो माथिल्लो स्तरमा पुग्छ तब उसले थाहा पाउँछ कि यस कुरालाई लिएर ‘इरिटेसन’ हुने जागिर छोड्ने भन्ने चैं हुँदैन ।

कहिले काहीँ जागिर छोडौ केही गरौ, अरु नै गरौं भन्ने नि लाग्छ रातभर निन्द्रा लाग्दैन, डिप्रेसन भयो जस्तो हुन्छ तर फेरि हामीले सन्तुष्ट के मा छु भन्ने कुुरा बुझ्नु पर्छ ।

सबै कुरालाई पैसामा मात्र दाज्न पनि हुँदैन कहिलेकाहीँ अर्कै अफिसमा काम गर्न पाए धेरै salary आउँथ्यो भन्ने पनि लाग्यो अरु नै अफिसमा गर्न पाए छुट्टै standard हुन्थ्यो भन्ने पनि आयो तर जहिले पनि मैले विश्लेषण त्यसरी गरिन ।

सफल व्यक्तिले सफल हुनका लागि त्यसले गरेका कार्यहरु के के छन् कस्ता कस्ता कार्यहरुबाट अगाडि बढेको छ भन्ने कुराको विष्लेषण गर्न जरुरी छ । हामी अरुको भौतिक प्रगति देखेर रिस डाह गर्छौ ।

तर त्यो व्यक्तिले गरेको मेहनत, अनिदो रातको, त्यसको पछाडि लुकेका कुराहरुलाई विश्लेषण गर्दैनौं, त्यस्तै हामीलाई अरुले पनि हिँडेको छ डुलेको छ खाको छ जिन्दगी मस्ती छ भनेर भन्छन् तर सबै कुरा देखे जस्तो पनि हुँदैन ।

तपाई निरन्तर सफल भई रहँदा तपाईको खुट्टा तान्ने प्रवृतिका सहकर्मी कोही थिएनन ?

हा हा हा, हेर्नुहोस यस्तो प्रबृतिका मान्छे नहुने कुन क्षेत्र छ र ? आफुलाई एकदमै जान्ने ठान्ने, अर्काको चासो मात्र राख्ने, कुरा लगाउने यस्ता प्रकृतीका कर्मचारी नहुने कुरै भएन ।

म मा पनि केही अवगुणहरु त होलान तर म कहिल्यै यस्तो खुट्टा तान्ने, सहकर्मिको प्रगतिमा जल्ने काम गरिन । मेरा पनि खुट्टा तान्ने प्रबृतिका सहकर्मी थिए, तर मलाई केही फरक परेन किनकी म आज तपाईको अगाडी छु । उनीहरु फेरी यो पढेर निरास हुन्छन । म त भन्छु खुट्टा तान्ने मान्छे पनि चाहिन्छ नभए तपाई सफल भएको कसरी थाहा पाउने त ?

खुट्टा न अगाडीबाट तान्न मिल्छ न उठेर, पछाडीबाट र बसेर नै तान्ने हो, अव यस्ता व्यक्तिलाई माया गर्नु पर्छ । यति धैरै मेहनत गर्छन ।

लघुवित्तमा इन्ट्री गर्न चाहानेहरुलार्ई के म्यासेज दिन चाहनुहुन्छ ?

हेर्नुस, लघुवित्त क्षेत्र पनि धेरै राम्रो क्षेत्र हो । अब मान्छेलाई जागिर गर्दा सेवा मात्र गर्छु भन्ने कुरा हैन, पैसाकै लागि गर्ने हो । यस क्षेत्रमा कार्य गर्दा आम्दानी संगसँगै सामाजिक, सांस्कृतिक, भौगोलिक विविध क्षेत्रको राम्रो ज्ञान, अनुभव प्राप्त हुन्छ । जागिर गर्नु भनेको जागिर खानु भन्दा पनि काम गर्नु हो ।

काम गर्नुस, मेहनत गर्नुस तपाईले पाउने पारिश्रमिक तपाईको मेहनत अनुसार आफै प्राप्त हुन्छ । जागिर भनेको पैसा कमाउनु मात्र पनि होइन अनुभव सङ्गाल्नु पनि हो । अनुभवले धेरै कुरा सिकाउँछ मान्छेलाई गर्छ । तपाईलाई त भन्नेले तिमी भन्न थाल्छन् तिमी भन्नेले तपाई भन्न थाल्छन् त्यो तपाईंलाई नामले होइन कि तपाईंको नाम पछाडि हुने संस्थाको कारणले हो ।

अझ पनि कोही नयाँ मान्छेसँग भेटयौ भनै तपाई के गर्नु हुन्छ भनेर सोध्छन । तपाईलाई गर्ने व्यवहार तपाईको हैसियतमा भर पर्छ । अझै पनि हामी गाउँघरमा गयौं भने तैँले के गर्छस भन्दा केही गर्दिन पढ्छु मात्र भन्नु र मैले काहीँ जागिर खान्छु भन्नेमा आकाश जमिन फरक छ । त्यो तपाईंको जागिरले दिएको हो ।

तुरुन्तै मान्छेले कति तलव खाइस भनेर सोध्दैन मान्छेले पैसाको पछि लाग्नु भन्दा पनि मेहेनत को पछि लाग्नु पर्दछ र सफलताको छोटकरी कहिले पनि हुँदैन । जतिसुकै ठुलो अस्पताल होस वा ठूलो डाक्टर जतिसुकै अव्वल किन नहोस् बच्चा जन्मिनको लागि ९ महिना नै समय लाग्छ अर्थात कत्ति चिजको समय निश्चित नै हुन्छ ।

त्यही भएर सफलताको छोटकरी कहिले पनि हुँदैन । गर्नुपर्ने मेहनत तपाई आफैले गर्नै पर्ने हुन्छ । सिफारिस, सोर्सफोर्सले अगाडी त बढनु होला तर कहिले सम्म ? त्यसैले मेहेनतको कुनै विकल्प छैन ।

जस्ले त्यसको छोटकरी खोज्छ त्यसको एक दिन एक्सिडेन्ट हुन्छ । लाग्ला मैले यति पढेको छु, मैले यति जानेको छु, त्यो हुँदैन कहिले पनि, लाग्नुपर्ने समय लाक्छ, गर्नु पर्ने मेहनत गर्नै पर्छ । आफ्नो मेहनतले प्राप्त सफलताको नशा बेग्लै हुन्छ । जव यस्तो नशा लाग्छ तपाई सधै खुशि, सधै सन्तुष्ट ।