नेपाल लाइफ इन्स्योरेन्सको आम्दानी १० प्रतिशतले बढ्यो
वि.सं.२०८० माघ २४ बुधवार ०८:२७
shares

काठमाडौं, २४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सर्वाजनिक गरेको वित्तीय विवरणमा इन्स्योरेन्सको आम्दानी १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले चालु आवको पुस मसान्तसम्ममा २९ अर्ब ५४ करोड ८२ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा २६ अर्ब ६८ करोड ९१ लाख ४६ हजार आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानीसँगै नाफा पनि बढेको छ । इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.१३ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ ।















