Dhulikhel Eco Banner new

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

4.58K
shares

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रंगशाला महानगरपालिकाले आफैं निर्माण गर्ने गरी बिहीबार बोलपत्र आह्वान गरेको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रु एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रंगशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग गर्नेगरी निर्माण गर्न बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । सत्तरी प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा सङ्घीय सरकारले समेत सहयोग गर्ने जनाइएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

‘यो हाम्रो संकल्प थियो । आज पूरा भएको छ, ‘ उनले भने, ‘लामो समयको अथक मेहनत, प्रयास र तत्परताले रंगशाला निर्माण सुनिश्चित भएको छ । यसले नेपाली खेलकुद जगत्का लागि उत्साह थपिएको छ ।’

उनले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी गरिएको बताए ।

गत कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रंगशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रंगशाला निर्माण अघि बढाइएको बताए । यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गामा रंगशाला निर्माण थालिएको थियो ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रंगशाला निर्माण गर्न लागिएको बताए ।

फाउण्डेसनले निर्माणका क्रममा तिर्नुपर्ने बाँकी भुक्तानी निर्माणका क्रममा लगाइएको महायज्ञमा घोषणा गरिएको बाँकी रकम उठाएर भुक्तानी गर्ने सहमति भएको छ । यसका लागि समिति निर्माण गरेर काम गर्ने तयारी गरिएको छ ।