Dhulikhel Eco Banner new

१० कित्ताका लागि किन गर्ने मरिहत्ते ! आईपीओकै मूल्यमा जति भन्यो उति किन्न पाइन्छ शेयर

123.64K
shares

काठमाडौं, २३ चैत । सुन्दा अचम्म लाग्ला, आईपीओकै मूल्यमा जति भन्यो त्यति शेयर किन्न पाइन्छ । कुनैबेला एक सय रुपैयाँमा किनेको शेयर ५ हजार रुपैयाँसम्म पुगेको छ । १ हजार रुपैयाँ आईपीओमा लगानी गरेर ५० हजार तपाई हामीले धेरैैले कमाएका छौँ । तर, अब भने अवस्था फेरिएको छ ।

ठूला र राम्रा भनिएका केही बैंकहरुको शेयर मूल्य अहिले आईपीओकै हाराहारीमा पाइन्छ । अझ अहिले त आईपीओ पनि प्रिमियममा निकाल्न थालेर सय रुपैयाँमा पाइदैन । महंयो शुल्कमा आईपीओमा आवेदन दिएर पनि पर्ने नपर्ने ठेगान हुँदैन । परिहाल्यो भने पनि उहीँ १० कित्ता ।

एक जना बैंकका सञ्चालकले केही दिन अघि केटिएम भ्वाइससँगको कुराकानीमा सुनाएको कहानी हो यो । यसलाई कहानी मात्रै भन्यो भने अन्याय हुन्छ । यो कहानी नभएर यथार्थ हो ।

उदाहरणका लागि हामीले प्रभु बैंकलाई हेरौँ न । काठमाडौंको बबरमहल र कमलादीमा दुई ठूला भव्य भवनमा केन्द्रीय कार्यालय रहेको, देशभर शाखा सञ्जाल भएको, राम्रो व्यवस्थापन रहेको प्रभु बैंकको शेयर मूल्य अहिले आईपीओकै हाराहारीमा खरिद गर्न पाइन्छ । फेरि, आईपीओ जस्तो होइन, दोस्रो बजारमा त तपाईले चाहे जत्तिकै कित्ता उठाउन पनि सक्नु हुनेछ । किनकी सप्लाई पनि राम्रै छ । सप्लाईको तुलनामा बोरु डिमाण्ड देखिदैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रभु बैंकको सर्वसाधारणतर्फको शेयर मूल्य जम्मा १३९ रुपैयाँ १० पैसा रहेको छ । यो नेप्सेमा भएको पछिल्लो कारोबारको मूल्य हो । सर्वसाधारण समूहको जम्मा १३९।१० रुपैयाँ छ भने प्रमोटर समूहको कति होला ?

नेप्सेमा कारोबार भएको पछिल्लो मूल्य अनुसार प्रमोटर शेयर प्रभु बैंकको जम्मा १०२ रुपैयाँमा नै किन्न पाइन्छ । लौ हेर्नुस् त, आईपीओ भन्दा सस्तो मूल्यमा बैंकको शेयर । प्रभु बैंक उदाहरणमात्रै हो । यस्तो सस्तो शेयर मूल्य भएका बैंक तथा वित्तीय संस्थाहरु अरु पनि छन् । तपाईलाई सस्तो मूल्यमा शेयर खरिद गर्नका लागि दोस्रो बजार काफी छ । तर, सस्तो भएका सबैले राम्रो प्रतिफल दिन्छन् भन्ने ज्ञारेन्टी भने हुँदैन ।