Dhulikhel Eco Banner new

सेनाका रथी सिग्देलको नागरिकतामा कैफियत ! गर्लान् त गृहमन्त्रीले छानविन ?

4K
shares

काठमाडौं । भावी प्रधानसेनापतिका रुपमा हेरिएका नेपाल सेनाका रथी अशोकराज सिग्देलको नागरिकता छानबिनको माग गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समक्ष उजुरी परेको छ । नेपाली सेनाका भावी प्रधानसेनापतिका रूपमा अघि बढाइएका सिग्देलले जन्म मिति सच्याएर नागरिकताको प्रतिलिपि लिएको आरोप उजुरीकर्ताले लगाएका छन् ।

सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको भन्दै उजुरी परेको हो । गृहमन्त्रालयका एक उच्च अधिकारीले गृहमा उजुरी परेको पुष्टि गरे । यसविषयमा केही निर्णय भने भइनसकेको ति अधिकारीले जानकारी दिए ।

उजुरीमा उल्लेख भएअनुसार रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटबाट नागरिकता लिएका थिए । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका बताइन्छ । जून घटना निकै शंकास्पद देखिएको उजुरीमा उल्लेख गरिएको छ ।

दुर्गम जिल्लामा जाजरकोटमा उनी किन बसाई सरे भन्ने प्रश्न गम्भीर रहेको भन्दै छानवीनको माग गरिएको छ । उनले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रष्ट देखिएको भन्दै छानवीन गरी कारबाही गर्न माग गरिएको छ ।

उजुरीमा उल्लेख भए अनुसार सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।

सोही आधारमा धेरैले अवकाश पाइसकेका छन् । त्यस कारण रथी सिग्देलले पनि अवकाश पाइसक्ने अवस्था छ । चार महिनाअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि यस्तै काण्डमा राजीनामा दिएका थिए । त्यति बेला सिग्देलमाथि पनि रक्षा मन्त्रालयमा छानबिनबारे छलफल चलेको थियो ।