सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या
वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९
shares

काठमाडौं, २७ वैशाख । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।
बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको छ । सीसीटिभी फुटेजमा देखाए अनुसार एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ । त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको छ ।
घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको छ ।



















