कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड
वि.सं.२०८३ वैशाख ७ सोमवार १०:४६
shares

काठमाडौं, ७ वैशाख । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड भएको छ। बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले आज शेयर बाँडफाँड गरेको हो।
कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै वितरण गरिसकिएको थियो।
बाँकी शेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो। त्यसपछि बाँकी रहेको ६ लाख ८४ हजार कित्ता शेयर सर्वसाधारणका लागि चैत २२ गतेदेखि २५ गतेसम्म बिक्री खुला गरिएको थियो।
आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। तीमध्ये १ लाख ६ हजार ४४९ जनाको आवेदन रद्द भएपछि २६ लाख ७८ हजार ७० जनाको आवेदन मात्र स्वीकृत भएको थियो।
मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। जसअनुसार ६८ हजार ४७५ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी २५ लाख ६७ हजारभन्दा बढी आवेदक भने शेयरबाट वञ्चित भएका छन्।
उच्च आवेदनका कारण कम्पनीको आईपीओमा न्यूनतम मात्र लगानीकर्ताले शेयर प्राप्त गर्न सकेका छन्।



















