Dhulikhel Eco Banner new

डोरस्टेप्स नेपाल एप सार्वजनिकः घरमै सेवा उपलब्ध गराउने डिजिटल माध्यमको औपचारिक सुरुवात

1.09K
shares

काठमाडौं, ७ वैशाख । नेपाली उपभोक्ता र सेवा–प्रदायकलाई एउटै डिजिटल माध्यममा जोड्ने उद्देश्यले तयार गरिएको ‘डोरस्टेप्स नेपाल’ एप आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दैनिक जीवनमा आवश्यक पर्ने घर तथा कार्यालयसम्बन्धी विभिन्न सेवाहरू अब मोबाइलमार्फत सहज रूपमा अर्डर गर्न सकिने भएको छ, जसले नेपालको डिजिटल सेवा क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार, यो एपले ग्राहक, सेवा–प्रदायक र प्रविधिबीच एक प्रभावकारी डिजिटल पुलको रूपमा काम गर्नेछ। यसले देशभर रहेका सीपयुक्त जनशक्ति र सेवाग्राहीबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्ने लक्ष्य राखेको छ।

एप सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले बताएका छन्, “हाम्रो उद्देश्य केवल एउटा एप निर्माण गर्नु होइन, नेपालभर रहेका सीपवान व्यक्ति, प्राविधिक तथा साना व्यवसायीलाई डिजिटल अवसरसँग जोड्नु हो। अब काम खोज्न हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ, काम आफैँ मोबाइलमार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ।”

उनीहरूले ग्राहकलाई गुणस्तरीय सेवा र सेवा–प्रदायकलाई सम्मानजनक आम्दानी सुनिश्चित गर्ने लक्ष्य रहेको पनि बताएका छन्।

डोरस्टेप्स नेपाल एपको प्रारम्भिक संस्करणमै १०० भन्दा बढी घरेलु, व्यक्तिगत तथा प्राविधिक सेवाहरू समावेश गरिएका छन्।

यसमा एसी, फ्रिज, धुने मेसिन मर्मत, विद्युतीय काम, पानी पाइप मर्मत, रङरोगन, सौन्दर्य तथा मेकअप सेवा, फोटो तथा भिडियो सेवा, निर्माण कार्य, घर तथा कार्यालय सफाइ, सूचना प्रविधि सेवा, शिक्षक तथा तालिम सेवा लगायतका विभिन्न सेवाहरू उपलब्ध छन्।

एपमार्फत सेवा–प्रदायकहरूले निःशुल्क दर्ता गर्न सक्नेछन्। दर्तापछि उनीहरूले आफ्नो व्यक्तिगत वा व्यवसायिक विवरण, अनुभव, मूल्य सूची, कार्यक्षेत्र र समय व्यवस्थापन गर्न पाउनेछन्। ग्राहकबाट प्राप्त मूल्याङ्कन तथा सुझावले सेवा–प्रदायकको विश्वसनीयता बढाउने कम्पनीको विश्वास छ।

यो माध्यम “सीपबाट रोजगारी” भन्ने अवधारणामा आधारित रहेको जनाइएको छ, जसले सीपलाई अवसरसँग प्रत्यक्ष जोड्ने काम गर्नेछ।

ग्राहकहरूले एपमार्फत सेवा छनोट गर्ने, मूल्य तुलना गर्ने, समय निर्धारण गर्ने, बुकिङ पुष्टि गर्ने र घरमै सेवा प्राप्त गर्ने सुविधा पाउनेछन्। साथै डिजिटल भुक्तानीको व्यवस्था पनि उपलब्ध गरिएको छ।

डोरस्टेप्स नेपालले प्रमाणित सेवा–प्रदायक, पारदर्शी मूल्य प्रणाली, चौबीसै घण्टा ग्राहक सहयोग, मूल्याङ्कन तथा सुझाव प्रणाली र एपमार्फत सेवा अनुगमन गर्ने व्यवस्था जस्ता सुविधाहरू समावेश गरेको जनाएको छ।

पूर्ण रूपमा नेपाली विकासकर्ता, डिजाइनर तथा बजार विशेषज्ञहरूको टोलीद्वारा निर्माण गरिएको यो एप प्रारम्भमा काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ। आगामी एक वर्षभित्र देशका सातै प्रदेशमा विस्तार गर्ने र १० लाखभन्दा बढी प्रयोगकर्ता पुर्‍याउने लक्ष्य राखिएको छ।

कम्पनीका अनुसार यस माध्यमले हजारौं नेपालीलाई रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्नेछ। विशेषगरी महिला, युवा तथा साना व्यवसायीलाई डिजिटल माध्यममार्फत सशक्त बनाउने अपेक्षा गरिएको छ।

डोरस्टेप्स नेपाल एप आजदेखि गुगल प्ले स्टोर र एप स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेको छ। ग्राहक तथा सेवा–प्रदायक दुवैले दर्ता गरी तुरुन्तै प्रयोग सुरु गर्न सक्नेछन्।