पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग
वि.सं.२०८३ वैशाख ७ सोमवार ११:०४
shares

काठमाडौं, ७ वैशाख । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको हालैको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
अध्यक्ष घिसिङले कर्णाली प्रदेशको विकट भूगोलका कारण यहाँ जीवनयापन तथा आवागमन पहिले नै महँगो रहेको उल्लेख गर्दै इन्धनको मूल्यवृद्धिले थप भार परेको बताए। उनले डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य नबढाउन र कर्णालीका लागि विशेष सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
उनका अनुसार कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पनि इन्धन मूल्य स्थिर रहन आवश्यक छ। छिमेकी भारतमा इन्धनको मूल्य वृद्धि नभएको सन्दर्भ दिँदै उनले नेपालमा भने नागरिकमाथि अतिरिक्त आर्थिक भार थोपारिएको टिप्पणी गरे।
अध्यक्ष घिसिङले वर्तमान दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने पनि बताए। उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गरे। हाल १३२ केभी प्रसारण लाइन जुम्लासम्म विस्तार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।
कार्यक्रममा उनले पार्टी गठनपछि पर्याप्त समय नपाउँदै निर्वाचनमा जानुपरेका कारण अपेक्षित सफलता हासिल गर्न नसकिएको स्वीकार्दै आगामी चुनावमा उज्यालो नेपाल पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै वडा तहसम्म सङ्गठन विस्तार गर्ने योजनाबारे पनि उनले जानकारी गराए।



















