Dhulikhel Eco Banner new

नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा १०० प्रतिशतसम्म विलम्ब शुल्क छुट योजना

1.16K
shares

काठमाडौं, ७ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव रजत जयन्तीको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यसहित विलम्ब शुल्कमा विशेष छुट योजना सार्वजनिक गरेको छ।

कम्पनीले वर्तमान आर्थिक चुनौतीका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेको अवस्थालाई मध्यनजर गर्दै बीमितहरूलाई सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानी गरी पुनः बीमा सुरक्षाको दायरामा ल्याउने लक्ष्य राखेको जनाएको छ। सोहीअनुसार कम्पनीले २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म लागू हुने गरी “विशेष बीमा पुनर्जागरण योजना २०८२र०८३” अन्तर्गत व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो।

३० दिनको अवधिका लागि लागू हुने यस योजनाबाट बीमालेख व्यतीत भएका बीमितहरूले ठूलो राहत पाउने अपेक्षा गरिएको छ। कम्पनीले सबै बीमितलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

नेपाल लाइफले पहिलो पटक यति ठूलो परिमाणमा विलम्ब शुल्क छुट योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार यसले आर्थिक कठिनाइका कारण बीमा नवीकरण गर्न नसकेका ग्राहकहरूलाई पुनः बीमा सुरक्षामा फर्कन सहयोग पुर्‍याउनेछ।

देशकै अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ। कम्पनीले विगत २५ वर्षदेखि देशभरका लाखौं नेपाली परिवारलाई सेवा दिँदै आएको छ। ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत कम्पनीले सेवा विस्तार गर्दै आएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिको परिणाम हुन सक्ने बताए। उनले ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यस्तो विशेष छुट योजना ल्याइएको उल्लेख गरे।

“हामी सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो तथा आफ्नो परिवारको भविष्यलाई थप सुरक्षित बनाउन अनुरोध गर्दछौं,” उनले भने, “नेपाल लाइफ सधैं तपाईंको विश्वासको सहयात्री रहिरहनेछ।”