Dhulikhel Eco Banner new

आईएमएफले स्वीकृत गर्‍यो ईसीएफको अन्तिम किस्ता

3.26K
shares

काठमाडौं, २७ असार, । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा रकम स्वीकृत गरेको छ । कोषको कार्यकारी सञ्चालक समितिले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम निकासा गराउने निर्णय गरेको हो ।

विस्तारित ऋण सुविधामार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको उल्लेख गर्दै आईएमएफले चौथो किस्ताको रकम स्वीकृत गरेको हो । यसअघि १२ जनवरी २०२२ मै कोषले नेपाललाई विस्तारित ऋण सुविधाअन्तर्गत कुल ३७ करोड १६ लाख अमेरिकी डलर रकम प्रदान गर्नका लागि अनुमोदन गरेको थियो । अहिले अन्तिम किस्ता रकमसहित नेपालले २४ करोड ७७ लाख अमेरिकी डलर ऋण सुविधा पाउन सक्नेछ ।

त्यस्तै आयात प्रतिवन्ध नगरी विदेशी मुद्रा सञ्चितिमा सुधार गरेको, चालु पूँजीगत कर्जा निर्देशिकामार्फत बैंकिङ सुपरीवेक्षण तथा नियमनमा सुधार गरेकोमा कोषले प्रशंसा गरेको छ । नेपालले ऊर्जा क्षेत्रमार्फत आर्थिक वृद्धिदरको संभावना देखाएको आईएमएफले जनाएको छ । नेपालले आर्थिक सुधार एजेन्डामा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै आईएमएफले मौद्रिक नीति, बैंकिङ नियमनजस्ता माध्यममार्फत कोभिड १९ का असरविरुद्ध प्रभावकारी भूमिका निर्वाह गरेको जनाएको छ ।