Dhulikhel Eco Banner new

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता

3.16K
shares

काठमाडौं, २१ कात्तिक । नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।

सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो ।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता भएको उल्लेख छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द भएको थियो । त्यसको करिब एक वर्षपछि दशैंअगाडि टिकटक खुलेको हो । सरकारले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट गत वर्ष नै पारित गरेको छ ।