२१ निर्माण व्यवसायी कम्पनी परे कालोसूचीमा
वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:३६
shares

काठमाडौं, १८ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। मंसिर १७ गतेको निर्णयअनुसार, २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद प्रक्रियाबाट बाहिर गरिएको हो।
यसरी कालोसूचीमा पर्नेमध्ये जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । त्यस्तै, सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । उक्त जेभी अन्तर्गत हेटौँडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । संघीय सडक डिभिजन चौरजहारी रुकुमको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
त्यस्तै, चौरजहारी डिभिजन तथा नेपाल राष्ट्र बैंकको सिफारिसमा दुई कम्पनीलाई दुई वर्षका दरमा, तनहुँको भानु नगरपालिकाको सिफारिसमा एउटा कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । बाँकी १५ वटालाई भने एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।



















