Dhulikhel Eco Banner new

प्राधिकरणमा उर्जामन्त्रीको ‘नांगो’ हस्तक्षेप, आयोजनाका सीईओ हटाउन कुनमानलाई ताकेता

3.71K
shares

काठमाडौं, १२ फागुन । उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री दिपक खड्काले आफू विरुद्ध फेसवुक स्टाटस लेखेको भन्दै एक आयोजनाका कार्यकारी प्रमुखलाई हटाउन पत्राचार गरेको पाइएको छ । मन्त्री खड्काले दुधकोशी जलविद्युत् आयोजनाका सीईओ बिमल गुरुङलाई पदबाट बर्खास्त गर्न भन्दै पत्राचार गरेका हुन् ।

गुरुङले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा एक पटक फेसवुकमा लेखेका थिए । फेसवुकमा स्टाटस लेखेर कुलमानलाई सहयोग गरेको बुझेका मन्त्रीले आफू माथि फेसवुक स्टाटस लेखेर विरोध गरेको आरोप लगाउदै पदबाट बर्खास्त गर्न लिखित रुपमा पत्राचार नै गरेका हुन् ।

गुरुङले फेसवुकमा कुलमान घिसिङको सपोर्ट हुने गरी लेख्ने गरेको मन्त्री मन्त्रालयका कर्मचारीहरु अञ्जन अधिकारी, निर्मला पौडेल लगायतले मन्त्रीका स्वकिय सचिव मार्फत सूचना प्रवाह गर्दै आएका थिए । सो कुरा जानकारी पाए पछि मन्त्री खड्काले मन्त्रालयका सचिव सुरेश आचार्यलाई कार्यकक्षमै बोलाएर आफूविरुद्ध लाग्नेहरुको सूची तयार पार्न लगाएका थिए । मन्त्री निकट श्रोतका अनुसार गुरुद्धलाई पदबाट तुरुन्तै हटाउनका लागि भन्दै मन्त्री खड्काले सचवलाई निर्देशन समेत दिए ।

मन्त्रीको ठाडो निर्देशन भन्दै उनलाई हटाउन कुनमालाई मन्त्रालयका २ जना अधिकारीहरुले टेलिफोनमा भनेका थिए । मन्त्रीको निर्देशन कुलमानले टेरेनन् । त्यसपछि गत ८ फागुनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सम्वोधन गर्दै मन्त्रालयले लिखित रुपमै तामाङलाई हटाएर जानकारी दिन निर्देशन दिएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट २०८१।११।०८ को च.नं. ५४९ नम्बरको पत्रबाट आयोजनाका कार्यकारी प्रमुखलाई हटाउन निर्देशन दिइएको छ । कुलमानले भने मन्त्रीको गैर कानूनी निर्देशन भन्दै कार्यान्वयन गरेका छैनन् । हालसम्म गुरुङलाई बर्खास्त भने नगरिएको पुष्टि गरेका कुलमानले विस्तृतमा बोल्न चाहेनन् ।

मन्त्री खड्का आफै हाइड्रो व्यापारी हुन् । उनले पछिल्लो समय कहिले कुनमान घिसिङ विरुद्ध प्रहार गर्ने त कहिले कुनमानलाई सहयोग गरेकै आधारमा अन्य कर्मचारीहरु माथि समेत दमन गर्दै आएका छन् । मन्त्रीको यो कार्यशैलीले मन्त्रालयकै कर्मचारीहरु समेत रुष्ट बनेका छन् ।

‘व्यापारीलाई बोकेर ल्याएर मन्त्रीको कुर्सीमा राखिदिए पछि हुने नै यस्तै हो’ मन्त्री खड्कासँग नजिकमा रहेर काम गरेका एक सहसचिव भन्छन्, ‘उहाँको कार्यशैली भनेको एउटा व्यापारीमा हुनुपर्ने छ, त्यहाँ भन्दा माथि उठ्न सक्नु हुन्न ।’

यस घटनाबारे धारण बुझ्न मन्त्रीलाई केटिएम भ्वाइसले सम्पर्क गरेको थियो । मन्त्री खड्का सम्पर्कमा आउनै चाहेनन् । उनले प्रयोग गर्ने मोवाइल नम्बर ९८५१३६४८६२ मा उनले फोन उठाएनन् ।