Dhulikhel Eco Banner new

भारतको ट्रान्सशिपमेन्ट सुविधा रोकिएपछि बंगलादेश–भारत सम्बन्धमा चिसोपन

2.76K
shares

काठमाडौं, २८ चैत । भारतले बंगलादेशलाई दिएको ट्रान्सशिपमेन्ट सुविधामा अचानक रोक लगाएपछि बंगलादेशका अर्थशास्त्रीहरू र व्यापार विशेषज्ञहरूले यो कदमलाई अनावश्यक र अव्यवस्थित बताउँदै आलोचना गरेका छन् ।

बंगलादेशका प्रमुख अर्थशास्त्री डा. जाहिद हुसैनले भारतको यस कदमप्रति आश्चर्य व्यक्त गर्दै भने, ‘भारत यस्तो किन गरिरहेको छ र यसबाट उसलाई के फाइदा हुन्छ, त्यो बुझ्न गाह्रो छ । उनले डेली स्टार सँगको कुराकानीमा भने, ‘केही प्रोटोकल र कूटनीतिक व्यवहार हुन्छन्, जसको पालना गरिनु पर्छ। तर यसपटक न कुनै सूचना दिइयो, न संकेत ।’

हुसैनले प्रधानमन्त्री मोदीसँग भएको पछिल्लो भेटमा सम्बन्ध सुधारिएको महसुस भएको भए पनि अहिले फेरि सम्बन्धमा चिसोपन आएको जनाए । ‘यो निर्णय अत्यन्तै अनावश्यक छ, विशेषगरी अहिलेको अवस्थामा जब भारतसहित सारा विश्व अमेरिकी टैरिफको असर झेलिरहेको छ’, उनले थपे ।

यसबीच, द बिजनेस स्ट्यान्डर्ड सँग कुरा गर्दै बंगलादेशका व्यापार विश्लेषकहरूले भने भारतले ट्रान्सशिपमेन्ट सुविधा हटाउँदा भारतकै राजस्वमा घाटा हुन सक्ने देखिएको छ ।

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका पूर्व वरिष्ठ उपाध्यक्ष अब्दुल्लाह हिल राकिबले भने, ‘हाम्रो व्यापारमा खासै असर पर्ने छैन, तर भारतलाई ठूलो घाटा हुन सक्छ, किनभने उसले हाम्रो सरप्लस कार्गोका लागि छुट्टै व्यवस्था गरेको थियो ।’

बंगलादेश फ्रेट फारवार्डर्स एसोसिएसनका अध्यक्ष कबीर अहमदले सुरुवातमा केही दबाब आउन सक्ने भए पनि बंगलादेशले वैकल्पिक उपायहरूबाट यसलाई व्यवस्थापन गर्न सक्ने बताए । ‘हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्नुपर्ने हुन सक्छ। आवश्यक परेमा श्रीलंका र माल्दिभ्सका विमानस्थल पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार, यसले बंगलादेशलाई भारतलाई तिर्दै आएको शुल्कबाट पनि बचत गराउनेछ ।

यसैबीच, सेंटर फर पोलिसी डाइलगका फेलो प्रोफेसर मुस्तफिजुर रहमानले पनि यो कदमले बंगलादेशको व्यापारमा ठूलो असर नपार्ने दाबी गरे। ‘बरु, यो बंगलादेशका लागि अवसर हो । उसले ढाका एयरपोर्टको तेस्रो टर्मिनलमा पहिले कार्गो सेवा सुरु गरेर आफ्नो ढुवानी प्रणालीलाई थप सबल बनाउन सक्छ,’ उनले द बिजनेस स्ट्यान्डर्ड सँग भने ।