कक्षा–१२ को परीक्षा तोकिएको मितिमै हुने बोर्डको निर्णय
वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४
shares

काठमाडौं, ९ वैशाख । शिक्षक आन्दोलनको असरबीच पनि कक्षा–१२ को परीक्षा तय भएको मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलवार बिहान बैठक बसेर परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डले यसअघि नै वैशाख ११ गतेदेखि परीक्षा सुरू हुने तालिका सार्वजनिक गरिसकेको थियो। पछिल्ला दिनमा नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षामा अन्योलता देखिएको थियो। मंगलवारको बैठकमा त्यही अन्योलता र सम्भावित विकल्पहरूबारे विस्तृत छलफल गरिएको बोर्ड स्रोतले जनाएको छ।
नेपाल शिक्षक महासंघले करिब तीन सातादेखि काठमाडौंमा आन्दोलन गर्दै आएको छ। महासंघले आन्दोलनको क्रममा कक्षा–१२ को परीक्षा लगायतका कुनै पनि औपचारिक कार्यमा सहभागी नहुन शिक्षक र विद्यालय कर्मचारीहरूलाई आह्वान गर्दै आएको छ।
यद्यपि बोर्डले परीक्षा समयमा नै सञ्चालन गर्ने अडान लिएपछि अब परीक्षा तयारी तीव्र बनाइने जनाएको छ। परीक्षा तोकिएकै मितिमा हुने भएपछि विद्यार्थीहरूलाई तयारीमा जुट्न आग्रह गरिएको छ।


















