Dhulikhel Eco Banner new

यस्तो छ आगामी वर्षका लागि नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

2.7K
shares

काठमाडौं, १९ वैशाख । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कार्यक्रममा राष्ट्रपति पौडेलको स्वागत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतले गरेका थिए। नेपाली सेनाको एक टुकडीले औपचारिक सम्मान गारत अर्पण गरेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सरकारको मूल उद्देश्य भएको उल्लेख गरे। जनताको लामो संघर्ष, बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र सम्वर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए।

उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन अगाडि बढाइने जानकारी दिँदै संविधानमा देखिएका कमी–कमजोरीलाई आपसी सहमतिका आधारमा सच्याइने बताए। गणतन्त्र र लोकतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी गतिविधिको कडा प्रतिवाद गरिने स्पष्ट धारणा राखे।

सरकारले सुशासन, जनविश्वास र उपलब्धिप्रति जनगौरव दिलाउने वातावरण निर्माण गर्ने बताउँदै, विकास निर्माणका क्रममा देखिएको कमजोरी सुधार गर्दै विकासको ढाँचा, गति र संस्कृतिमा आमूल परिवर्तन गरिने नीति अघि सारेको छ।

राष्ट्रपति पौडेलले विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाको पुनः प्राथमिकिकरण गरिने जानकारी दिए। स्रोत सुनिश्चित नभएका वा सम्पन्न नहुने योजनाहरू स्थगित गरिने र त्रुटिपूर्ण तथा अव्यवहारिक आयोजना खारेज गरिने नीति स्पष्ट रूपमा कार्यक्रममा उल्लेख छ।