Dhulikhel Eco Banner new

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

2.25K
shares

काठमाडौं, १ जेठ। मस्र्याङदी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजना अब पूर्ण वित्तीय व्यवस्थापनसहित निर्माणको चरणमा प्रवेश गरेको छ। एम. ए. पावर प्रा. लि. द्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन कुमारी बैंक लिमिटेडको अगुवाइमा सम्पन्न भएको हो।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिकाको सीमाभित्र पर्ने मस्र्याङ्दी नदीमा निर्माण हुने उक्त आयोजना निर्माणका लागि १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बराबरको संयुक्त लगानीमा ऋण सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्का र एम.ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्यको उपस्थिति रहेको थियो। कर्जा प्रवाहमा कुमारी बैंकसँगै प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंक समेत सहभागी छन्।

बैंकका अनुसार आयोजनामा स्वपुँजी लगानीका रूपमा अनुप आचार्य, हरिबाबु न्यौपाने, र दिपक बरालले लगानी गर्ने छन्। साथै डोल्मा इम्प्याक्ट फण्डले कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने जानकारी कम्पनीका अध्यक्षले दिएका छन्। यसै समूहद्वारा प्रवर्द्धित सेतीखोला जलविद्युत् आयोजना (२२ मेगावाट) हाल अन्तिम निर्माण चरणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते बिजुली खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ। व्यावसायिक उत्पादन सुरु गर्ने मिति २०८६ साल वैशाख २२ तोकिएको छ।